पुनर्बीमा कम्पनीले एक वर्षभित्र २० अर्ब पूँजी पुर्‍याउनु पर्ने, योजना पेस गर्न १५ दिनको समय सिमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

पुनर्बीमा कम्पनीले एक वर्षभित्र २० अर्ब पूँजी पुर्‍याउनु पर्ने, योजना पेस गर्न १५ दिनको समय सिमा



काठमाडौं । नेपाल बीमा प्राधिकरणले पुनर्बीमा कम्पनीहरुको न्युनतम चुक्तापूँजी बढाएको छ । बुधबार बसेको बीमा प्राधिकरण सञ्चालक समितिको बैठकले पुनर्बीमा कम्पनीको न्युनतम चुक्तापूँजी २० अर्ब पुर्‍याउने निर्णय गरेकाे हो ।

प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुुुसार, बैठकले पुनर्बीमा कम्पनीले चुक्ता पुँजी २० अर्बको सिमामा राख्नुपर्ने निर्णय गरेको छ । ‘जीवन बिमा कम्पनीको जोखिम बहन गर्ने क्षमता बढाएपछि पुनर्बीमाको पनि बढाउनुपर्ने भएकोले २० अर्बको सिमा राखिएको हो ।

नेपालमा अहिले पुनर्बीमा कम्पनी दुइ वटा मात्रै छन् । सरकारी स्वामित्वको नेपाल पुनर्बीमा कम्पनी र निजी स्वामित्वको हिमालयन रि इन्स्योरेन्स रहेका छन् । अब यी दुबै कम्पनीले एक वर्षको समयमा चुक्ता पुँजी २० अर्ब पुर्याउनु पर्नेछ । साथै, पुँजी बढाउने योजना पेस गर्न भने प्राधिकरणले १५ दिनको समय सिमा दिएकाे पाैडेलले बताए ।

असार मसान्तसम्मको वित्तीय विवरणअनुसार नेपाल पुनर्बीमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ छ भने हिमालयन रि इन्स्योरेन्ससँग १० अर्ब रुपैयाँ रहेको छ । अब पुनर्बीमा कम्पनीले ५६.१ प्रतिशत र हिमालयन रि इन्स्योरेन्सले एक सय प्रतिशतले चुक्ता पुँजी बढाउनु पर्नेछ । यसअघि प्राधिकरणले जीवन बिमा कम्पनीले चुक्तापुँजी पाँच अर्ब र निर्जीवन बिमा कम्पनीले चुक्ता पुँजी दुई अर्ब ५० करोड रुपैयाँ पुर्याउनुपर्ने व्यवस्था गरेको थियो ।

प्रकाशित : १७ माघ २०८०, बुधबार १६:१९