सार्वजनिक ऋणकाे आकार २३ खर्ब ८४ अर्ब, प्रतिव्यक्ति ऋण दायित्व ८१ हजार माथि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सार्वजनिक ऋणकाे आकार २३ खर्ब ८४ अर्ब, प्रतिव्यक्ति ऋण दायित्व ८१ हजार माथि



काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्म सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०/८१ दोस्रो त्रैमाससम्म देशको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ पुगेको हो ।

यो रकम भुक्तानी हुन बाँकी सार्वजनिक ऋणको सावाँ ब्याज सम्मिलत कुल रकम हो । यसमध्ये सुरु मौज्जाद २२ खर्ब ९९ अर्ब ३५ करोड २५ लाख रुपैयाँ र एक खर्ब ६२ अर्ब ५८ करोड ४९ लाख रुपैयाँ ऋण प्राप्ति रहेको छ । यो अवधिसम्म सरकारले गरेको साँवा भुक्तानी रकम ७७ अर्ब ४५ करोड १४ लाख रुपैयाँ रहेको छ ।

गत मङ्सिर मसान्तसम्ममा सार्वजनिक ऋणको आकार २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ थियो । यसरी एक महिनाको अवधिमा सरकारको ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले वृद्धि भएको छ ।

समीक्षा अवधिससम्म आन्तरिक ऋणमार्फत एक अर्ब २८ करोड ३१ लाख रुपैयाँ र बाह्य ऋण ३४ अर्ब २७ करोड ४९ लाख रुपैयाँ प्राप्ति गरिएको छ । यस्तै यो अवधिसम्म आन्तरिक ऋणको ५९ अर्ब ३७ करोड १६ लाख रुपैयाँ र बाह्य ऋणको १८ अर्ब सात करोड ९८ लाख रुपैयाँ साँवा भुक्तानी गरिएको छ ।

राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको नेपालको जनगणना, २०७८ अनुसार कुल जनसङ्ख्या दुई करोड ९१ लाख ६४ हजार ५७८ छ । कुल सार्वजनिक ऋणलाई कुल जनसङ्ख्यासँग तुलना गर्दा प्रतिव्यक्ति ऋण ८१ हजार ७५९ रुपैयाँ हुन आउँछ ।

प्रकाशित : ८ माघ २०८०, सोमबार १४:४०