काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो छ महिनामा २२ अर्ब ३३ करोड ६५ लाख १७ हजार रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ । उद्योग विभागका अनुसार साउनदेखि पुस मसान्तसम्ममा २२६ वटा उद्योगका लागि साे रकम बराबरकाे वैदेशिक लगानी स्वीकृत भएको हाे ।
विभागका अनुसार पुस महिनामा मात्रै २७ वटा उद्योगका लागि एक अर्ब ७२ करोड ५९ लाख ३९ हजार रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। पुसमा साना २२ र मझौला ५ उद्योगका लागि प्रतिवद्धता प्राप्त भएको छ ।
छ महिनाको अवधिमा साना २११, मझौला १२ र ठूला ३ उद्योगका लागि उक्त लगानी प्रतिवद्धता प्राप्त भएको हो । उक्त प्रतिबद्धता अनुसार लगानी भित्रिए १२ हजार १ सय ६७ जनाले रोजगारी पाउने विभागले जनाएको छ।
त्यसैगरी विभागले उक्त अवधिमा २८ वटा सेयर खरिद सम्झौतालाई पनि स्वीकृति दिएको छ। जसबाट चार अर्ब एक करोड तीन लाख नाै हजार ९६९ रुपैयाँ विदेशी लगानी भित्रिने विभागकाे भनाइ छ । पुसमा मात्रै यस्तो स्वीकृति ७ वटाले पाएका छन् जुन २६ करोड ३६ लाख ५० हजार रुपैयाँबराबरको लगानी प्रतिबद्धता हो।
त्यस्तै यस अवधिमा प्रविधि हस्तान्तरणका ३१ प्रस्ताव प्राप्त भएका छन् । पुसमा मात्रै चारवटा यस्ता सम्झौताले स्वीकृति पाएका छन्।
क्षेत्रगत रुपमा छ महिनामा आएको लगानी उत्पादन, ऊर्जा, कृषि, पर्यटन, खानीजन्य, सेवा, पूर्वाधार र सूचना प्रविधि क्षेत्रमा भित्रिएको हो। प्रत्यक्ष वैदेशिक लगानीको ठूलो हिस्सा पर्यटनमा आइरहेको पाइएको छ । छ महिनामा आएका कुल प्रस्तावमध्ये १ सय ३ वटा पर्यटनमा छन् । यो ४५ प्रतिशत हो । सेवा क्षेत्रमा ८३ प्रस्ताव आएका छन् । यो ३७ प्रतिशत हो ।
त्यस्तै निर्माणमा २३ प्रस्ताव आएका छन् । यो १० प्रतिशत हो । सूचना–प्रविधिमा ७ प्रस्ताव आएका छन् । यो ३ प्रतिशत हो । कृषि र पूर्वाधारमा ४/४ प्रस्ताव आएको विभागले जनाएको छ । यो वर्ष साउनको तुलनामा पुसमा सबैभन्दा धेरै प्रस्ताव प्राप्त भएको देखिएको छ ।





Comment