नेपाल पुनर्बिमा कम्पनीकाे सार्वजनिक गर्‍यो चौथो त्रैमासिक वित्तीय विवरण « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नेपाल पुनर्बिमा कम्पनीकाे सार्वजनिक गर्‍यो चौथो त्रैमासिक वित्तीय विवरण



काठमाडौं । नेपाल पुनर्बिमा कम्पनीले बल्ल गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । साउन महिनामै चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नुपर्ने भए पनि कम्पनीले ५ महिना पछि विवरण सार्वजनिक गरेको हो ।

कम्पनीको चौथो त्रैमाससम्म आइपुग्दा निर्जीवन र जीवन बिमा व्यवसायतर्फ खुद नाफा बढेको छ । अघिल्लो वर्ष ५६ करोड ५० लाख ४४ हजार रुपैयाँ रहेको निर्जीवन बिमा व्यवसायतर्फको खुद नाफा गत वर्षको चौथो त्रैमासमा ९१ करोड २० लाख १६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो वर्ष यसैअवधिमा जीवन बिमा व्यवसायतर्फ १० करोड ८८ लाख ३४ हजार रुपैयाँ नाफामा कमाएको यस कम्पनीले गत वर्ष चौथो त्रैमाससम्ममा १७ करोड ६६ लाख ४७ हजार रुपैयाँ नाफा कमाएको छ । गत वर्ष असार ममसान्तसम्म यस कम्पनीले निर्जीवन व्यवसायबाट ५ अर्ब ५० करोड ९६ लाख ५० हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा यसले ८ अर्ब ८७ करोड ६७ लाख ७१ हजार रुपैयाँ निर्जीवन व्यवसायबाट खुद बिमा शुल्क आर्जन गरेको थियो ।

त्यस्तै गत वर्षको चौथो त्रैमाससम्ममा जीवन बिमा व्यवसायबाट २ अर्ब १ करोड ३० लाख ४७ हजार रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्षको यसैअवधिमा जीवन बिमा व्यवसायबाट १ अर्ब ८८ करोड ९८ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो । यस अवधिसम्म पुनर्बिमा कम्पनीको चुक्ता पुँजी १२ अर्ब ८१ करोड रुपैयाँ रहेको छ । गत वर्षको असार मसान्तसम्म यस कम्पनीको निर्जीवन व्यवसायतर्फको जगेडा कोषमा ३ अर्ब ४३ करोड ६१ लाख १७ हजार रुपैयाँ र जीवन बिमातर्फ ७१ करोड १९ लाख ८४ हजार रुपैयाँ जम्मा भएको छ ।

चौथो त्रैमाससम्म यस कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ८ रुपैयाँ ५० पैसा र प्रतिसेयर नेटवर्थ १५९ रुपैयाँ ५९ पैसा रहेको छ ।

प्रकाशित : २७ पुष २०८०, शुक्रबार १३:०८