एक वर्षमा राेजगारीकाे लागि ८ लाख बढी नेपाली विदेशिए, भारत र यूएई प्रमुख गन्तव्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

एक वर्षमा राेजगारीकाे लागि ८ लाख बढी नेपाली विदेशिए, भारत र यूएई प्रमुख गन्तव्य



काठमाडौं । रोजगारीका लागि नेपालीहरु विदेशिने क्रम तीव्र रुपमा बढिरहेको छ । यो क्रम वर्षपिच्छे बढ्ने गरेको पाइएको छ । पछिल्लो एक वर्षमा विभिन्न उद्देश्यले १६ लाख तीन हजार ८३६ जना नेपाली विश्वका २२२ देश तथा क्षेत्र पुगेका छन् । यो संख्या त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए)बाट जानेहरूको मात्र हो ।

यसरी जानेहरु वैदेशिक रोजगारी, घुमघाम, आफन्तरपरिवार भेट्न, अध्ययन, अस्थायी आवास, स्थायी आवास, सभा/सम्मेलन र तालिम, डिपेन्डेन्ट, उपचार, व्यापार, खेलकुद कार्यक्रम, कन्सर्ट, सांस्कृतिक लगायतका कार्यक्रममा सहभागी हुने उद्देश्यले नेपालीहरू विदेश जाने गरेको पाइएको छ ।

तीमध्ये स्थायी बसोबासका लागि ७० हजार ९१५ जनाले नेपाल छाडेका छन् । तीमध्ये ३६ हजार ६६३ जना पुरुष र ३४ हजार २५१ जना महिला छन् । यसैगरी अस्थायी बसोबासका लागि ९२ हजार ३४९ जनाले नेपाल छाडेका छन् । जसमा ५१ हजार ८७६ र ४० हजार ४६८ जना महिला छन् ।

रोजगारीका लागि देश छाड्ने नेपालीहरुको संख्या ८ लाख ८ हजार ४१५ छ । रोजगारीका लागि ७ लाख २३ हजार ७८९ पुरुष र ८४ हजार ६०४ जना महिला विदेशिएको अध्यागमन विभागको तथ्यांक छ ।

सन् २०२३ मा अध्ययनका लागि १ लाख ८ हजार ५ सय ४२ जना विदेशिएका छन् ।

वर्ष २०२३ मा सबैभन्दा ठूलो संख्यामा नेपाली गएको देशमा क्रमश: युनाइटेड अरब इमिरेट्स (यूएई), भारत, कतार, मलेसिया, साउदी अरेबिया, अस्ट्रेलिया, जापान, अमेरिका, बेलायत र कुवेत रहेका छन् । यसमा सबैभन्दा ठूलो संख्यामा नेपाली यूएई गएको विभागको तथ्याङ्कले देखाउँछ ।

यसाे त विभागले उपलब्ध गरेको तथ्याङ्क अनुसार बहराइन, क्रोएसिया, माल्दिभ्स, जर्मनी, न्युजिल्यान्ड, साइप्रस, माल्टा, पोल्यान्ड, डेनमार्क, फ्रान्स, श्रीलंका, फिनल्यान्ड, दक्षिण सुडान, मौरिसस्, ब्रुनाई, स्पेन, मकाउ, अजरवैजान, इन्डोनेसिया, अस्ट्रिया, इटाली र फिलिपिन्स जाने नेपालीको संख्या पनि ठूलो रहेको छ ।

सन् २०२३ मा युएईमा मात्रै वैदेशिक रोजगारी, भिजिट भिसा र व्यापारिक उद्देश्यले दुई लाख ७१ हजार ८८ जना नेपाली यूएई गएका थिए । यूएईपछि दोस्रोमा भारत छ । टीआईएबाट २०२३ मा एक लाख ८० हजार ६०२ जना नेपाली भारत गएका थिए । विदेश जानेमध्ये तेस्रो ठूलो संख्या कतार जानेको छ । गत वर्ष एकलाख ७९ हजार ४४१ जना नेपाली कतार पुगेको देखिन्छ ।

विभागको तथ्याङ्क अनुसार बितेको एक वर्षमा मलेसिया एकलाख ६५ हजार २०१, साउदी अरेबिया एक लाख ३६ हजार २०३, अस्ट्रेलिया एकलाख पाँचहजार ३४३, जापान ८२ हजार ७७२, अमेरिका ६७ हजार ८१०, बेलायत ५३ हजार ४०१ र कुवेत ४८ हजार १०३ जना नेपाली गएका थिए ।

यस्तै, दक्षिण कोरिया ३४ हजार ८६४, थाइल्यान्ड ३० हजार १८४, क्यानडा २३ हजार २८९, चीन २० हजार १८१, हङकङ १८ हजार १९, ओमान १२ हजार ३८३, रोमानिया ११ हजार २८२, सिंगापुर १० हजार ६३८, पोर्चुगल १० हजार ६३८ र बंगलादेश १० हजार ५२ जना नेपाली गएका थिए ।

वर्ष २०२३ मा १९ वटा देश तथा क्षेत्रमा मात्र एक/एक जना नेपाली पुगेको विभागको तथ्याङ्कले देखाउँछ । एक/एक जना नेपाली मात्र पुगेका देश तथा क्षेत्रमा ब्रिटिस भर्जिन आइल्यान्ड, जर्सी, मोनाको, कुक आइल्यान्ड्स लगायत छन् ।

प्रकाशित : २४ पुष २०८०, मंगलवार १५:०८