बीमा कम्पनीले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बीमा कम्पनीले प्राइभेट इक्विटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने




काठमाडौं। बीमा कम्पनीले अब प्राइभेट इक्‍विटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने भएका छन्। बीमा प्राधिकरणले जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीले प्राइभेट इक्‍विटी र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न पाउने व्यवस्था गरेको हो।

प्राधिकरणले जीवन बीमकको लगानी (दोस्रो संशोधन), २०८०, निर्जीवन बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० पुनर्बीमकको लगानी (पहिलो संशोधन) निर्देशन, २०८० जारी गर्दै यस्तो व्यवस्था गरेको हो।

बीमा कम्पनीले विशिष्टीकृत लगानी कोष नियमावली बमोजिम धितोपत्र बोर्डबाट व्यवसाय गर्न स्वीकृत प्राप्त प्राइभेट इक्‍विटी फण्ड र भेन्चर क्यापिटल फन्डमा लगानी गर्न सक्ने प्राधिकरणले जनाएको छ।

यसमा कम्पनीले कुल लगानीको बढीमा १.५ प्रतिशत लगानी गर्न पाउनेछन् भने एकै फण्डमा बढीमा १ प्रतिशतसम्म लगानी गर्न सक्ने व्यवस्था गरिएको छ। यसमा कम्पनीले लगानी गर्नु पूर्व प्राधिकरणको स्वीकृति लिनु पर्नेछ।

प्राधिकरणको सञ्‍चालक समितिले पुस ५ गते जीवन, निर्जीवन, पुनर्बीमा बीमकको लगानी निर्देशन संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो। यसअघि जीवन, निर्जीवन र पुनर्बीमा कम्पनीलाई लगानी गर्न प्राधिकरणले ११ क्षेत्र तोकेको थियो।

यसैगरी, प्राधिकरणले लघु जीवन र लघु निर्जीवन बीमकको लगानी निर्देशन समेत संशोधन गरेको छ। प्राधिकरणले सबै बीमा कम्पनीलाई निर्देशन संशोधनमार्फत नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको सेयरमा लगानी गरिने कम्पनीको चुक्ता पुँजीको १५ प्रतिशत लगानी गर्न सकिने व्यवस्था गरिएको छ।

यसअघि बीमा कम्पनीले नेपाल धितोपत्र बोर्डबाट इजाजतपत्र प्राप्त धितोपत्र विनिमय बजारमा सूचीकृत पब्लिक लिमिटेड कम्पनीको साधारण सेयरमा मात्रै लगानी गर्न पाउने व्यवस्था गरेको थियो। संशोधनअघि कम्पनीहरूले लगानी गर्ने कम्पनीको चुक्ता पुँजीको ५ प्रतिशतभन्दा बढी लगानी गर्न नपाउने व्यवस्था थियो।

प्रकाशित : २२ पुष २०८०, आईतवार १६:४६