अधिक तरलता व्यवस्थापन गर्न दिनदिनै पैसा तान्दै राष्ट्र बैंक, फेरि २५ अर्ब रुपैयाँ तान्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अधिक तरलता व्यवस्थापन गर्न दिनदिनै पैसा तान्दै राष्ट्र बैंक, फेरि २५ अर्ब रुपैयाँ तान्दै



काठमाडौं। नेपाल राष्ट्र बैंकले फेरी २५ अर्ब रुपैयाँ तान्ने भएको छ । बजारमा रहेको अधिक तरलतालाई व्यवस्थित गर्न राष्ट्र बैंकले २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्न लागेको हो। बैंकले अघिल्लो दिन पुस १७ गते पनि ७ दिने अवधिको १० अर्ब निक्षेप संकलनका लागि बोलकबोल आह्वान गरेको थियो ।

बैंकले निक्षेप सङ्कलन उपकरणको माध्यमबाट १४ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो २ बजेबाट बोलकबोल हुने बैंकले जनाएको छ ।

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी आगामी माघ ३ गते हुनेछ ।

निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।

प्रकाशित : १८ पुष २०८०, बुधबार १२:०४