बैंकहरुको लोभलाग्दो होम लोन स्कीमः कुन बैंकमा कस्तो सुविधा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बैंकहरुको लोभलाग्दो होम लोन स्कीमः कुन बैंकमा कस्तो सुविधा ?



काठमाडौं । बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) निरन्तर बढ्दो छ । केहि समय अघिसम्म तरलता नहुँदा कर्जा नपाउने गुनासो पटक–पटक आउँथ्यो तर अहिले परिस्थती फरक बनेको छ । अहिले तरलता बढ्दो छ भने कर्जा माग न्यून छ । केही पुराना ऋणीले कर्जा थप गरेपनि नयाँ कर्जाको माग नभएकाले तरलता थुप्रिएको बैंकहरू बताउँछन् ।

राष्ट्र बैंकका अनुसार पछिल्ला दिनमा बैंक तथा वित्तिय क्षेत्रमा ६० खर्ब भन्दा बढी निक्षेप संकलन भएको छ । गत पुस १० गतेसम्म बैंकिङ क्षेत्रमा ६० खर्ब ४७ अर्ब निक्षेप संकलन भएको छ । त्यस्तै ५० खर्ब १२ अर्ब कर्जा प्रवाह भएको छ । जसअनुसार कर्जा निक्षेप अनुपात (सिडि रेसियो) ८०.१० प्रतिशतमा झरेको छ । राष्ट्र बैंकले पछिल्लो समय आवासीय घरसहितको रियल स्टेट कर्जाको जोखिम भार कम गरेको छ । जसले गर्दा व्यक्तिगत आवासीय घर कर्जा उल्लेख्य रुपमा विस्तार भएको छ । बजारमा लगानी बढाउनका लागि बैंकहरुले अनेक उपाय खोजिरहेका छन् । लगानी बढाउन ब्याजदर घटाएर कर्जाका विभिन्न स्कीमहरू ल्याउन थालेका छन्।

कर्जा लगानी बढाउन बैंकहरुको होम लोन योजना

यो योजना अन्त्ररगत रहेर विभिन्न बैंकले व्यापक प्रतिस्पर्धात्मक तरिकाले होम लोन योजना ल्याएका छन् । जसमा एभरेष्ट बैंकले घर तपाईको साथ हाम्रो भन्दै १०.७४ प्रतिशतको सुलभ व्याजदरदेखि पाइने विशेष होम लोनको योजना ल्याएको छ । बैंकले ऋण प्रक्रियामा छिटो गर्ने, सरल कागजी प्रक्रिया, लचिलो ऋण अवधि भन्दै २५ बर्षसम्मको सुविधामा सरल मासिक किस्ता भएको आफ्नो स्किम ल्याएको छ ।

त्यस्तै, ग्लोबल आइएमई बैंकले एकल अंकमा आधारित न्यूनतम् ब्याजदरमा १२ करोडसम्म कर्जा सिमा भएको विशेष घर कर्जा योजना सार्वजनिक गरेको छ । उक्त विशेष घर कर्जा योजना अन्तर्गत अन्य बैंक वित्तीय संस्थाबाट कर्जा उपभोग गरिरहेकाहरुले सहज रुपमा कर्जा सार्न सक्ने बैंकले जनाएको छ ।

यस विशेष घर कर्जा योजना अन्तर्गत सेवाग्राहीले ५ वर्षसम्मको अवधिका लागि ९.९९ देखि १०.९९ प्रतिशत, ५ देखि १० वर्षसम्मको लागि १०.९९ देखि ११.४९ प्रतिशत र १० वर्षभन्दा बढिको अवधिका लागि ११.४९ देखि ११.९९ प्रतिशत निश्चित तथा स्थिर ब्याजदरमा १२ करोड रुपैयाँसम्म कर्जा लिन पाउनेछन् ।

बैंकले ग्राहकलाई छिटो, छरितो एवंम सहज रुपमा कर्जा प्रवाह गर्ने उद्देश्यमा निहीत रही आवश्यक कागजातहरु पेस गरेको तीन कार्य दिनभित्र विना झन्झट कर्जा प्रवाह गर्ने जनाएको छ ।

सिटिजन्स इन्टरनेशनल बैंक लिमिटेडले वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा होम लोन ल्याएको छ । जहाँ एक पटक घर कर्जा लिइसकेपछि जहाँ ७ वर्षसम्म ढुक्क भएर ब्याजदर बढ्ने चिन्ता नै लिनुनपर्ने, सिटिजन्स बैंकको होम लोनमा ग्राहकहरूले २ करोड देखि ५ करोड रुपैयाँसम्मको घर कर्जा विना कुनै झन्झट लिन सक्नेछन् योजना ल्याएको छ। साथै,  प्रत्येक महिना समान ईएमआई (किस्ता) मा ग्राहकले सजिलै घर कर्जा लिन सक्नेछन् ।

‘सपनाको घरलाई दिनुहोस् आकार सिटिजन्स घर कर्जाले पार्नेछ सपना साकार’ भन्ने अभियानका साथ अगाडी बढिरहेको बैंकले वार्षिक १०.९९ प्रतिशत स्थिर ब्याजदरमा घर कर्जा प्रदान गरेको छ । जसमा ग्राहकहरूले आवासका निम्ति जग्गा खरिदरघर निर्माण, अपार्टमेन्ट खरिद, मर्मत सम्भार तथा विस्तार तथा रि–फाइनान्स समेतको लागि विभिन्न प्रकृतिका घर कर्जा सुविधा प्रदान गरिएको छ ।

बैंकको नयाँ घर कर्जामा ग्राहकहरूले पाँच करोड रुपैयाँसम्मको कर्जा समान मासिक किस्ताबन्दी (ईएमआई)मा लिन सकिने छ । जसको कर्जा २५ वर्षसम्ममा चुक्ता गरिसक्नु पर्नेछ । पाँच करोडसम्मको कर्जामा धितो सुरक्षण मूल्यको अधिकतम ५० प्रतिशतसम्म कर्जा लिन सक्ने बैंकले जनाएको छ ।

यस्ता छन् प्रावधान सिटिजन्स बैंकको ‘होम लोन’ लिन

नेपाली नागरिक जसको नियमित आयस्रोत अथवा जागिर भएको हुनुपर्ने, स्वरोजगार व्यक्तिको हकमा, व्यापारर व्यवसाय कम्तीमा दुई वर्षदेखि सञ्चालनमा रहेको हुनुपर्ने, ऋणीले धितो राख्ने घररजग्गा मोटर बाटोको पहुँचमा हुनुपर्नेछ। साथै, आवेदकको न्यूनतम उमेर १८ वर्ष र कर्जा समाप्तिको अवधिसम्म अधिकतम उमेर ६५ वर्ष ननाघेको हुनुपर्ने, आवेदक वा निजको संगोलको परिवारको सम्पत्तिबाहेक अन्य तेस्रो पक्षको धितो सुरक्षण मान्य नहुने जनाएको छ।

सिटिजन्स बैंकको ‘होम लोनमा मासिक किस्ताको व्यवस्था

ग्राहकले डेढ करोड रुपैयाँ घर कर्जा सात वर्षे अवधिको हुँदा प्रत्येक महिना २ लाख ५७ हजार ईएमआई (किस्ता) हुन्छ । जहाँ सात वर्षभन्दा बढी अवधिको कर्जामा कर्जाको ईएमआई कम हुन्छ । तर, ग्राहकलाई छोटो अवधिको कर्जामा बढी लाभ हुने देखिन्छ । ग्राहकहरूले आवश्यक कागजात पुरा गरेर हप्ता दिनभित्र घर कर्जा लिन सकिने बैंकले जनाएको छ । यसअघि उपलब्ध गराउँदै आएको कर्जामा ग्राहकहरूले सन्तुष्टि जनाउँदै आएको बैंकको दाबी छ ।

त्यसैगरी,  नबिल बैंकले पनि प्रतिस्पर्धाकैबीच नबिल ढुक्क घर कर्जा भनेर आफ्नो योजना ल्याएको छ । नबिल भए ढुक्क भन्दै ९.९९ प्रतिशतमा सात बर्षको लागि स्थिर व्याजदरमा होम लोन योजना ल्याएको छ। यस बैंकको ऋण अवधि ३० वर्षको रहेको छ ।

‘नारीको नाममा घर, आर्कषक व्याजदर’ भन्ने नारासहित नारीको नाममा घरजग्गा खरिद गर्न प्रोसाहन स्वरुप नियमित भन्दा अझै कम गरी १०.७४ प्रतिशत व्याजदरमा सिद्धार्थ हाम्रो घर कर्जा योजना भन्ने स्किम ल्याएको छ। यस बैंकले बार्षिक व्याजदर पहिलो ७ बर्षका लागि स्थिर रहने सुविधा दिएको छ ।

होम लोन ल्याउने अर्को बैंक एनएमबी बैंक रहेको छ । सपना साकार गरी भविष्यको आधार बनाउने, आफ्नै घर हो सम्पन्नताको आभास दिलाउने भन्ने नाराका साथ १०.४९ प्रतिशतको स्थिर व्याजदरमा १० वर्षसम्मलाई एनएमबी सुलभ घरकर्जा योजना ल्याएको छ ।

अन्य भन्दा फरक योजनामा नेपाल बैंक देखिएको छ । घरकर्जा दिंदा नेपाल बैंकले भने घडेरी कर्जाको स्किम ल्याएको छ । नेपालको पहिलो बैंक नेपाल बैंकले हामी तपाइको सपनालाई बास्तविकतामा परिणत गछौं भन्दै सरल प्रक्रिया तथा सुलभ व्याजदरमा घडेरी कर्जाको सुविधा दिने भएको छ । सम्पुर्ण साखामार्फत कर्जा दिने यस बैंले कर्जा भुक्तानी अवधि बढीमा २० बर्षसम्मको राखेको छ ।

प्रकाशित : १३ पुष २०८०, शुक्रबार २२:२२