अधिक तरलता प्रभाव: १२ दिनमै ६ औं पटक निक्षेप तान्दै राष्ट्र बैंक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अधिक तरलता प्रभाव: १२ दिनमै ६ औं पटक निक्षेप तान्दै राष्ट्र बैंक



काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबार बैंकिङ प्रणालीबाट २० अर्ब रुपैयाँ तरलता खिच्ने भएको छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि राष्ट्र बैंकले पछिल्लो समय निक्षेप संकलन उपकरण बोलकबोलमार्फत लगातार तरलता खिचिरहेको छ ।

निक्षेप सङ्कलन उपकरणको माध्यमबाट बैंकले ७ दिने निक्षेप सङ्कलन गर्न लागेको हो । अनलाइन बिडिङ सिस्टममार्फत दिउँसो २ बजे बोलकबोल हुने निक्षेप सङ्कलन आजै खरिद गरिने केन्द्रीय बैंकले जनाएको छ । इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको परिपक्वता वा सावाँ ब्याज भुक्तानी यही पुस १९ गते हुनेछ ।

यससंगै निक्षेप संकलन उपकरण प्रयोग गर्दै बैंकिङ प्रणालीबाट राष्ट्र बैंकले १२ दिन अर्थात पुस महिना लागे यता एक खर्ब २५ अर्ब रुपैंया खिचेको छ । यसअघि बैंकले पुस १ गते १० अर्ब, पुस ३ गते १० अर्ब रुपैयाँ, पुस ४ गते २५ अर्ब रुपैयाँ, पुस ६ गते २५ अर्ब रुपैयाँ, पुस ११ गते ३५ अर्ब रुपैयाँ निक्षेप संकलन तानिसकेको छ ।

निक्षेप संकलनको पछिल्लो औसत ब्याजदरलाई हेर्ने हो भने ब्याजदर केहि मात्र बढेको देखिन्छ । पुस १ गते राष्ट्र बैंकले १० अर्ब निक्षेप तान्दा त्यसको औसत ब्याजदर २.४७८४ प्रतिशत निर्धारण भएको थियो । पुस ११ गतेसम्म आइपुग्दा औसत २.८५९४ प्रतिशत कायम भएको छ ।

राष्ट्र बैंकले कार्यान्वयनमा ल्याएको ब्याजदर करिडोरको तल्लो सीमाको रूपमा रहेको निक्षेप सङ्कलन दर भन्दा अन्तरबैंक ब्याजदर कम भएपछि राष्ट्र बैंकले रिभर्स रिपो वा निक्षेप सङ्कलन उपकरण बोलकबोल मार्फत तरलता खिच्ने गर्दछ । मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षा मार्फत निक्षेप सङ्कलन दर ४.५ प्रतिशतलाई घटाएर ३ प्रतिशतमा ल्याएको छ । तरलता यही अनुपातमा बढ्दै गएमा अझै सहज स्थिती आउने देखिन्छ ।

प्रकाशित : १२ पुष २०८०, बिहीबार १४:३६