१४ किलो सुन तस्करी प्रकरण : मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

१४ किलो सुन तस्करी प्रकरण : मीन घलेको टीमले १३८ किलो सुन तस्करी गरेको छानबिन समितिको निष्कर्ष



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद १४ किलो सुन तस्करी प्रकरणको छानबिनका लागि गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। १४ किलो सुनसहित पक्राउ परेका गोरखा घर भएका मीनबहादुर घलेको समूहले १३८ किलो सुन तस्करी गरेको देखिएको समितिको निष्कर्ष छ।

भन्सार कार्यालयले मंसिर २२ मा दुबईबाट काठमाडौं आएका चन्द्र घलेलाई १४ किलो सुनसहित पक्राउ गरेको थियो । उक्त घटनामा गोरखाका मीनबहादुर घले पनि पक्राउ परेका थिए ।

समितिले अध्ययनको क्रममा मीनबहादुरले दुबईमा रहेका अंकित अग्रवाल नाम गरेका व्यक्तिसँग सम्पर्क गरी नेपालमा सुन तस्करी गरेको पाइएको जनाएको छ । १३८ मध्ये पछिल्लो पटक १४ केजीमात्र सुन पक्राउ परेको प्रतिवदेनमा उल्लेख गरिएको छ ।

मिनबहादुर घले, चन्द्र आले र कृष्णकुमार श्रेष्ठले पटकपटक गरि १३८ केजी सुन ल्याएर विमानस्थलबाट सेटिङ मिलाएर बाहिर ल्याउने गरेकोमा पछिल्लो पटक चन्द्र घलेले ल्याएको १४ केजी मात्र पक्राउ परेको देखिएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

मीन घलेले एयरपोर्टको सेटिङ मिलाउन डिवी भनिने दनबहादुर गुरुङलाई प्रयोग गरेको देखिन आएको समितिको ठहर छ ।

विमानस्थलबाट सुन बाहिर निकाल्न एयरपोर्टमा कार्यरत नागरिक उड्ययन कार्यालय, गौचरनका एसी मेकानिक राधाकृष्ण श्रेष्ठ, कार्यालय सहयोगी लेक बहादुर तामाङ, सेवा निवृत्त भई करारमा कार्यरत रमेश देउला, एसी शाखामा काम गर्ने सहयोगी अनिल श्रेष्ठ र प्लम्बर शेरबहादुर बस्नेत समेतले भूमिका खेलेको खुल्न आएको समितिको भनाइ छ ।

एयरपोर्टबाट बाहिरिएको सुन रमेश, राधाकृष्ण र अनिलले काठमाडौंको टोखा नगरपालिका, बानियाटार सूर्यदर्शन हाइटमा रहेको डीबी गुरुङको घरमा पुर्‍याउने गरेको र यो सुन मिनबहादुर र उनका साथी जाने भन्ने जीवन गुरुङले अंकितले भनेको स्थानमा पुर्‍याउने गरेको समितिको ठहर छ ।

प्रकाशित : ८ पुष २०८०, आईतवार १५:२८