दुई बैंकसहित यी कम्पनीले गरे लाभांश नदिने घोषणा, अघिल्लो पटक कति दिएका थिए ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

दुई बैंकसहित यी कम्पनीले गरे लाभांश नदिने घोषणा, अघिल्लो पटक कति दिएका थिए ?



काठमाडौं । गत बर्षको नाफाबाट यी चार कम्पनीले सेयरधनीहरुलाई लाभांश नदिने घोषणा गरेका छन् । कम्पनीको सञ्चालक समितिको बैंठकले निर्णय गरेअनुसार गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट हिमालयन बैंक,ज्योति विकास बैंक, सीवाइसी नेपाल लघुवित्त वित्तीय संस्था र चन्द्रागिरी हिल्स लिमिटेडले कुनैपनि लाभांश नदिने घोषणा गरेका हुन् ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल १९.११ प्रतिशत लाभांश वितरण गरेको हिमालयन बैंकले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने भएको छ । बैंकको बुधबार बिहान बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने र सोही बमोजिक वित्तीय विवरण स्वीकृतिका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने निर्णय गरेको छ।

त्यस्तै, ज्योति विकास बैंकले पनि अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश वितरण गरेकोमा गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश वितरण नगर्ने घोषणा गरेको छ । बैंकको बुधबार बसेको सञ्चालक समिति बैठकले लाभांश वितरण नगर्ने गरी गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतिका लागि नियामक नेपाल राष्ट्र बैंकसमक्ष पेश गर्ने निर्णय गरेको छ ।

सीवाइसी नेपाल लघुवित्तले गत आर्थिक वर्ष २०७९/८० को नाफाबाट लाभांश नदिने भएको भएको छ । कम्पनीको सञ्चालक समितिको मंगलबार बसेको बैठकले लाभांश वितरण नगरी गत आर्थिक वर्षको नाफालाई सञ्चित गर्ने निर्णय गरेको छ । साथै, सोही अनुसारको वित्तीय विवरण नियामक नेपाल राष्ट्र बैंकमा पेश गर्ने जानकारी गराएको छ । यस लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा कुल ३१.५८ प्रतिशत लाभांश वितरण गरेको थियो ।

अर्काे चन्द्रागिरी हिल्स लिमिटेडले अघिल्लो आर्थिक बर्षमा पनि कुनै लाभांश नदिएको कम्पनीले दोस्रो वर्ष आर्थिक वर्ष २०७९/८० को नाफाबाट पनि सेयरधनी लाभांश पाउन बन्चित भएका छन् । चन्द्रागिरी हिल्स लिमिटेडको कार्यालय थानकोट परिसरमा पुस २६ गते वार्षिक साधारण सभा बोलाएको कम्पनीले यस पटक पनि कुनै लाभांश प्रस्ताव गरेको छैन । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, पुस १२ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन् ।

प्रकाशित : ४ पुष २०८०, बुधबार ११:१३