सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सकाे आइपीओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

सर्वसाधारणका लागि मंसिर २७ गतेदेखि हिमालयन रि इन्स्योरेन्सकाे आइपीओ आउदै



काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले मंसिर २७ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएकाे छ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो ।

कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड रुपैयाँको शेयर निष्काशन गर्ने भएको छ ।

सो मध्यमा २ प्रतिशत अर्थात ६ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीलाई सुरक्षित गरेको छ । कम्पनीले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी पूँजी १० अर्ब रुपैयाँ बराबरको ३० प्रतिशतका दरले ३ अर्ब रुपैयाँ बराबरको ३ करोड कित्ता शेयर निष्काशन गरिसकेको छ ।

सामूहिक लगानी कोषका लागि १५ लाख कित्ता शेयर बाँडफाँड गरी बाँकी रहेको दुई करोड ४९ लाख कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो ।

यसमा पुस १ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा पुस ११ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यो आइपीओमा एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

प्रकाशित : २१ मंसिर २०८०, बिहीबार १२:०२