मोबाइल बैंकिङमा आर्कषण बढ्दो, एक महिनामै दुई अर्ब ७७ करोडको कारोबार « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

मोबाइल बैंकिङमा आर्कषण बढ्दो, एक महिनामै दुई अर्ब ७७ करोडको कारोबार



काठमाडौं । नेपाल राष्ट्र बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गरेकै कारण पछिल्लो समय नेपालमा मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको छ । डिजिटल कारोबार सरल, सहज, झन्झटमुक्त र सुरक्षित भएकै कारण मोबाइल बैंकिङ प्रयोगकर्ताहरुको संख्या बढ्दै गएको हो ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार एक वर्षको अवधिमा मोबाइल बैंकिङ प्रयोगकर्ता बढेर दुई करोड २२ लाख ८४ हजार ६२२ जना पुगेका छन्। उक्त संख्या गत वर्षको असोज महिनासम्म एक करोड ९१ लाख २ हजार ६५२ जना रहेको थियो ।

यो वर्षको असोजमा मोबाइल बैंकिङबाट तीन करोड २७ लाख ७२ हजार बढी कारोबारमार्फत दुई खर्ब ७७ अर्ब ८२ करोड ४० लाख रुपैयाँबराबरको भुक्तानी भएको छ। अघिल्लो वर्षकाे असाेजमा मोबाइल बैंकिङबाट दुई करोड ९ लाख ९ हजार ३६१ वटा कारोबारमा एक खर्ब ६२ अर्ब १३ करोड ७० लाख रुपैयाँबराबरको भुक्तानी भएको थियो।

मोबाइल बैंकिङ प्रयोगकर्ता बढेसंगै वालेट प्रयोगकर्ता पनि ५४ लाख भन्दा बढी थपिएका छन् । गत वर्षको असोज महिनाको तुलनामा यस वर्षको असोज महिनासम्ममा ५४ लाख ३६ हजार ३४१ जना नयाँ वालेट प्रयोगकर्ता थपिएका हुन् ।

गत वर्षको असोज महिनासम्म एक करोड ४८ लाख ३९ हजार ८२० जना वालेट प्रयोगकर्ता रहेका थिए । उक्त प्रयोगकर्ता यस वर्षको असोज महिनासम्म आइपुग्दा दुई करोड २ लाख ७६ हजार १६१ जना पुगेका हुन् ।

नेपाल राष्ट्र बैंकका अनुसार असोज महिनासम्म आइपुग्दा इन्टरनेट बैंकिङ प्रयोगकर्ता १६ लाख २५ हजार ९ जना पुगेका छन् । यस्तै, यस अवधिसम्म आइपुग्दा कनेक्ट आइपिएस प्रयोगकर्ता ११ लाख ६० हजार ९५६ जना पुगेका छन् भने डेबिट कार्ड प्रयोगकर्ता एक करोड २६ लाख ३९ हजार ६२२ र क्रेडिट कार्ड प्रयोगकर्ता २ लाख ९९ हजार १६२ जना पुगेका छन् ।

प्रकाशित : ८ मंसिर २०८०, शुक्रबार १५:०५