विदेशी लगानीकर्ताको पहिलो रोजाइ पर्यटन क्षेत्र : चार महिनामा १९९ उद्योग दर्ता, झन्डै २२ अर्ब लगानी प्रतिबद्धता « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

विदेशी लगानीकर्ताको पहिलो रोजाइ पर्यटन क्षेत्र : चार महिनामा १९९ उद्योग दर्ता, झन्डै २२ अर्ब लगानी प्रतिबद्धता



काठमाडौं । चार महिनामा करिब २२ अर्बको वैदेशिक लगानी प्रतिबद्धता भएको छ । उद्योग विभागले उपलब्ध गराएको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को पहिलो चार महिना अर्थात् साउनदेखि कात्तिक मसान्तसम्ममा २१ अर्ब ८८ करोड ३१ लाख रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता भएको हो ।

जुन गत आवको सोही अवधिको तुलनामा ८९ प्रतिशत बढी हो । गत आवको पहिलो चार महिनामा ११ अर्ब ६० करोड रुपैयाँ वैदेशिक लगानी प्रतिबद्धता आएको थियो । योसँगै नेपालमा आएको कुल वैदेशिक लगानी प्रतिबद्धता चार खर्ब ६८ अर्ब ३२ करोड ३२ लाख पुगेको छ ।

विभागका अनुसार यस अवधिसम्म एक सय ७० वटा साना, पाँच वटा मझौला, तीनवटा ठूला र अन्य प्रकृतिका २१ गरेर एक सय ९९ वटा उद्योगमा सो बराबरको लगानी प्रतिबद्धता आएको हो । यी उद्योगहरूमा आठ हजार सात सय ७० जनालाई रोजगारी खुल्ने विभागको तथ्यांकमा उल्लेख छ ।

विभागका अनुसार कात्तिकका मात्रै दुई अर्ब ७४ करोड २५ लाखबराबरको लगानी प्रतिबद्धता आएको छ । विभागका अनुसार कात्तिकमा २७ वटा नयाँसहित ४२ वटा उद्योगमा वैदेशिक लगानी प्रतिबद्धता आएको हो। सबैभन्दा बढी लगानी प्रतिबद्धता पर्यटनसम्बन्धी उद्योगमा आएको छ । वैदेशिक लगानी प्रतिबद्धतामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा देखिएको छ । चालु आवको चार महिनामा कुल लगानी प्रतिबद्धताको ४८ प्रतिशत हिस्सा पर्यटन क्षेत्रको छ ।

विदेशी लगानीकर्ताहरू पर्यटन क्षेत्रमा आकर्षित देखिएका छन् । यस क्षेत्रमा चार महिनामा ८६ वटा उद्योग पर्यटन क्षेत्रको दर्ता भएका छन् । कात्तिकमा मात्रै पर्यटन क्षेत्रका लागि आएको लगानी प्रतिबद्धता ५६ प्रतिशत रहेको छ । सो महिनामा कुल १५ वटा उद्योग पर्यटन क्षेत्रबाट दर्ता भएका छन् ।

विभागका अनुसार दोस्रो स्थानमा भने सेवा क्षेत्र रहेको छ । सो क्षेत्रमा ३९ प्रतिशत लगानी प्रतिबद्धता भएको छ । चालु आवको चार महिनामा यस क्षेत्रमा ६९ वटा उद्योग दर्ता भएका छन् । कात्तिक महिनामा मात्रै यसको हिस्सा ४४ प्रतिशत छ भने १२ वटा उद्योग यस क्षेत्रबाट दर्ता भएका छन् ।

यस्तै, उत्पादन क्षेत्रमा ७ प्रतिशत (१२ वटा), सूचना प्रविधिमा ३ प्रतिशत (५ वटा उद्योग), पूर्वाधार क्षेत्रमा २ प्रतिशत (४ वटा), र खनिज जन्य क्षेत्रमा १ प्रतिशत (१ वटा) वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

समीक्षा अवधिमा साउनमा एकैपटक १३ अर्ब १३ करोड ६० लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको थियो । त्यसपछिका महिनाहरूमा भने लगानी प्रतिबद्धता रकम तुलनात्मक रूपमा कम छ । तथ्यांकअनुसार भदौमा तीन अर्ब आठ करोड १० लाख, असोजमा दुई अर्ब ९२ करोड ३६ लाख र कात्तिकमा दुई अर्ब ७४ करोड २५ लाख रुपैयाँबराबरको लगानी प्रतिबद्धता आएको छ ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार १५:३४