उच्च ब्याजदरलाई हाउगुजीको रुपमा नबुझाैँः एबीए अध्यक्ष एसेभेडो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

उच्च ब्याजदरलाई हाउगुजीको रुपमा नबुझाैँः एबीए अध्यक्ष एसेभेडो



काठमाडौं । एसियन बैंकर्स एसोसिएसन (एबीए)का अध्यक्ष युजेन एस एसेभेडोले नेपालसहित विश्वका अधिकांश देशका जनता उच्च ब्याजदरको पछाडि लागेको बताएका छन् । काठमाडौंमा जारी ३९औं एसियन बैंकर्स एसोसिएसन जनरल मिटिङ एन्ड कन्फ्रेन्सका क्रममा आयोजित पत्रकार सम्मेलन बोल्दै उनले यसलाई ठूलो हाउगुजीको रुपमा नबुझ्न आग्रह गरे ।

उनले यो निकै नै चाँडै तल्लो लेभलमा आइपुग्छ भनेर बुझ्न समेत आग्रह गरे । उच्च ब्याजदरले माग सिर्जनामा कमी ल्याई अर्थतन्त्रको वृद्धिदरलाई सुस्त बनाउनेतर्फ उनले चिन्ता व्यक्त गरे । विश्वव्यापी रुपमा ब्याजदर घट्न थालेकोमा एसेभेडोले सन्तोष व्यक्त गरे ।

‘अमेरिकाले पछिल्लो समय रेट बढाएको छैन, आगामी दिनमा थप रेट कटौति गर्दै जाने संकेतहरु देखिएका छन् ।’ उनले थपे, ‘एशिया प्रशान्त क्षेत्रका केन्द्रीय बैंकहरु पनि त्यही बाटोमा छन्, त्यसैले अब उच्च ब्याजदर बिस्तारै घट्दै जानेछ ।’

उनले विश्वव्यापी रुपमा उच्च तहमा पुगेको ब्याजदरको साइकल अब अन्त हुने दिशातर्फ रहेको र अर्को वर्षको दोश्रो त्रैमाससम्म उच्च ब्याजदरको चिन्ता हटेर जाने समेत दाबी गरे ।

त्यसैगरी, उनले पत्रकारहरुसँग कुराकानी गर्दै एशियामै सबैभन्दा कम खराब कर्जाको अनुपात नेपालमा रहेकोले आफूलाई भाग्यमानी ठान्न आग्रह गरे ।

म रहेको देश(फिलिपिन्स)सहित एशियाका प्राय सबै देशमा बैंकिङ क्षेत्रको एनपीएल नेपालको भन्दा दुईगुणा बढी छ ।’नेपालको ग्रस एनपीएल ३.८ प्रतिशत रहेको कुरा सुनेपछि यूजिनले भने, ‘तपाईहरु आफूलाई भाग्यमानी ठान्नुस् कि एनपीएल अत्यन्त ‘लो लेभल’मा रहेछ ।’

उनले नेपालका बैंकहरुका अन्य सूचकहरु पनि निकै राम्रा रहेका भन्दै प्रशंसा गरे । ‘नेपालको बैंकिङ क्षेत्र निकै राम्रो ढंगले म्यानेज भएको रहेछ । यसका लागि यहाँका बैंकर साथीहरुलाई पनि म बधाई दिन चाहन्छु ।’

प्रकाशित : २३ कार्तिक २०८०, बिहीबार १६:०२