नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरूलाई प्रधानमन्त्रीको आग्रह



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालको नेतृत्वमा गएको एशिया प्रशान्त क्षेत्रीय उद्योग वाणिज्य परिसंघका अध्यक्ष पिटर म्याकमुलिन एम सहितको प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्ड समक्ष औपचारिक भेटवार्ता गरेको छ ।

भेटवार्तामा नेपालको आर्थिक विकासमा एशिया प्रशान्त क्षेत्रबाट लगानी, प्रविधि एवं विकास मोडल आकर्षण गर्न क्यासीबाट हुन सक्ने सहयोगका विषयमा छलफल भयो । सो अवसरमा प्रधानमन्त्रीले नेपालमा लगानी गर्न एशिया प्रशान्त क्षेत्रका व्यवसायिक लिडरहरुलाई आग्रह पनि गरे ।

सो अवसरमा प्रधानमन्त्री प्रचण्डले नेपालले राजनीतिक उपलव्धी हासिल गरिसकेको र अवको यात्रा समृद्धि नै भएकाले यसमा सहयोग गर्न क्यासी पदाधिकारीहरुलाई आग्रह गरे । नेपालले राष्ट्रिय एवं अन्तराष्ट्रिय लगानी आव्हान गरिरहेको र नेपालमा लगानीका लागि अतिनै उपयुक्त समय पनि भएको र सरकार पनि सबै प्रकारको सहयोग गर्न तयार रहेको विश्वास उहांले सो अवसरमा दिलाए ।

महासंघका अध्यक्ष ढकालले ३७ औं क्यासी सम्मेलन नेपालको आर्थिक विकासका मुद्दामा केन्द्रीत भएको र सम्मेलन सहयोगी हुने अपेक्षा नेपाली निजी क्षेत्रले गरेको बताए । एशिया प्रशान्त क्षेत्रबाट लगानी एवं प्रविधि भित्र्याउन क्यासीमार्फत महासंघले पहल गर्ने थप स्पष्ट पारे।

क्यासीका अध्यक्ष पिटरले लगानी आकर्षण एवं आर्थिक व्यवसायिक सम्बन्ध विस्तारमा सहयोग पुुरयाउन क्यासी तयार रहेको प्रतिवद्धता जनाउनुु भयो । भेटवार्तामा अर्थमन्त्री डा. प्रकाशशरण महत, मुख्य सचिव डा. बैकुण्ठ प्रसाद अर्याल र क्यासी पदाधिकारी एवं सदस्यहरुको उपस्थिति थियो ।

नेपालले छोटो अवधिमा पनि उत्कृष्ट कार्यक्रम आयोजना गर्न सफल भएकोमा उहांले खुशी व्यक्त गर्नुभयो । विश्व आर्थिक मन्चमा ठूलो हिस्सा ओगट्ने एशिया प्रशान्त क्षेत्र नेपालको विकास अभियानमा बलियो सहयोगी हुने उहांले विश्वास दिलाए ।

महासंघको आयोजनामा कार्तिक २० गतेदेखि काठमाडौंमा क्यासीको ३७ औं सम्मेलन आयोजना भैरहेको छ । सम्मेलनको राष्ट्रपति रामचन्द्र पौडेलले हिजो उद्घाटन गरेका थिए । कार्यक्रममा भागलिन एशिया प्रशान्त क्षेत्रबाट करिव तीन दर्जन व्यवसायिक नेताहरुको काठमाडौं आएका छन् ।

सम्मेलनमा स्वच्छ र नवीकरणीय ऊर्जा, क्षेत्रीय आर्थिक वृद्धि, खाद्य र कृषि, युवा उद्यमशिलता तथा सूचना प्रविधि, पर्यटन, लघु, घरेलु तथा साना उद्यम, जल, ऊर्जा र वातावरण, क्षेत्रीय व्यापार व्यवसाय संजाल विस्तार, एसिया–प्रशान्त क्षेत्रमा विकासका अवसर र चुनौती लगायतका महत्वपर्ण विषयहरुमा दुुई दिनसम्म एशिया प्रशान्त क्षेत्रका निजी क्षेत्र, विकास साझेदार, दातृ निकाय तथा सरकारी प्रतिनिधिहरु र नीति निर्माताहरुले बिचार विमर्श गरीरहेका छन् ।

निजी क्षेत्रको प्रतिनिधिमुलुक संस्था नेपाल उद्योग वाणिज्य महासंघ यस संस्थाको संस्थापक सदस्य हो ।

प्रकाशित : २१ कार्तिक २०८०, मंगलवार १६:५८