नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फः अर्थमन्त्री महत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फः अर्थमन्त्री महत



काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपालको अर्थतन्त्र सकारात्मक बाटोतर्फ लागेको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को १५ औं वार्षिकोत्सव अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री महतले पर्यटक आगमन र रेमिट्यान्स आप्रवाह वृद्धि भएको तथा घरजग्गा कारोबार पनि लयमै फर्कंदै गरेको बताए ।

अर्थमन्त्री महतका अनुसार प्राकृतिक प्रकोप, महामारीलगायतका समस्या बेलाबेलामा आएपनि तिनलाई सम्बोधन गर्दै आर्थिक वृद्धिदर बढाउनु पर्ने बताए । उनले नेपालको अर्थतन्त्रमा समस्या एकाएक आएको नभएर वर्षौंदेखि समस्या थपिदै जाँदा थप समस्या भएको दाबी गरे । उनले भने, ‘पर्यटक आगमन र रेमिट्यान्स बढेको छ । घरजग्गामा एकैपटक धेरै लगानी हुँदा अर्थतन्त्रमा समस्या आएको थियो,’ उनले भने, ‘त्यसपछि लगातार घरजग्गाको मुल्य बढ्ने नहुँदा समस्या भयो । अहिले समाधान भैसकेको छ ।’

महतले बैंकहरुको ब्याजदर घट्दै गएको पनि बताए । ‘बैंकहरुको ब्याजदर क्रमश घट्दै गएको छ,’ उनले भने । अर्थतन्त्रका परिसूचक राम्रो हुँदै गएकाले नेपालको अर्थतन्त्रमा आत्मविश्वास आवश्यक भएकाले यसको वातावरण बनाउनु पर्ने महतको भनाइ छ । अर्थमन्त्री महतले विश्व बैंक र एसियाली विकास बैंकको आर्थिक प्रक्षेपणले पनि नेपालले ४ प्रतिशत बढी आर्थिक वृद्धि हासिल हुने देखाएको बताए ।

‘अन्तरराष्ट्रिय क्षेत्रमा नेपालको विषयमा चासो बढ्दो छ,’ अर्थमन्त्री महतले भने, ‘विश्व बैंक, एडीबीसहित बेलायत लगायत देशका निजी क्षेत्र नेपालप्रति सकारात्मक छन् ।’ उनले आगामी फागुन–चैतमा वैदेशिक लगानी ल्याउन लगानी सम्मेलन गर्ने बताए । निजी क्षेत्र, गैरआवासीय नेपाली संघसँग समन्वयगरी विदेशी लगानी ल्याउने गरी सम्मेलन गर्ने उनको दाबी छ ।

महतका अनुसार नेपालका मुख्य ४ वटा क्षेत्रले अर्थतन्त्रलाई चलायमान बनाउन सक्छन् । ‘२–३ मेगावाटबाट सुरु भएको जलविद्युत् क्षेत्रमा अहिले निजी क्षेत्र एक्लै २–३ सय मेगावाटसम्म बनाउन सक्ने बनिसकेको छ,’ उनले भने । अर्थमन्त्री महतका अनुसार जलविद्युत्मा एक प्रकारको इकोसिस्टम बनिसकेको छ र १.७ अर्ब रुपैयाँ लागत भएको अपर अरुण जवि आयोजना अघि बनाउन विश्व बैंकले तत्परता देखाएको छ ।

‘सूचना प्रविधिको क्षेत्रमा नेपालले राम्रो प्रगति गरेको छ,’ उनले भने, ‘आईटी क्षेत्रलाई प्रवद्धर्न गर्न अन्तरराष्ट्रिय कम्पनीले नेपालमा सेन्टर खोलोस् भन्ने सरकारको चाहना छ ।’
नेपालको लगानी र आर्थिक विकासको लागि पर्यटन क्षेत्र अर्को विकल्प रहेको महतको भनाइ छ।

तीन पत्रकार पुरस्कृत

नाफिजको वार्षिकोत्सवका अवसरमा आर्थिक पत्रकारितामा योगदान गर्ने तीन पत्रकारलाई नगदसहित पुरस्कृत गरिएको छ । नगद एक लाख रुपैयाँ सहित शारदा–ढुन्डिराज नाफिज आर्थिक पत्रकारिता पुरस्कार रातोपाटी डटकमका प्रयास श्रेष्ठलाई प्रदान गरिएको छ । त्यस्तै जनही ५० हजार रुपैयाँ राशिको बैंकिङ पत्रकारिता पुरस्कारबाट पत्रकारद्वय क्रमशः आर्थिक मिडिया सञ्चालक सङ्घ (इमान) का अध्यक्ष रोयल आचार्य र विकासन्युज डटकमका पत्रकार सन्तोष रोकायालाई प्रदान गरिएको छ ।

प्रकाशित : १८ कार्तिक २०८०, शनिबार २०:१३