एनआईसी एशियाको अधिकांश सूचकमा गिरावट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

एनआईसी एशियाको अधिकांश सूचकमा गिरावट



काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको अधिकांश सूचकमा गिरावट देखिएको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा बैंकले १ अर्ब १ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४२.४९ प्रतिशत कम हो।

गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ७५ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.५५ प्रतिशत घटेको छ भने खुद फि तथा कमिशन आम्दानी २७.४१ प्रतिशत बढेको छ।

त्यसैगरी, समीक्षा अवधिमा बैंकको कुल सञ्चालन आम्दानी ११.११ प्रतिशत र सञ्चालन मुनाफा ३८.९४ प्रतिशत घटेको छ। बैंकको इम्पेरमेन्ट चार्ज बढेर ६४ करोड ४३ लाख पुगेको छ। असोज मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा ९८ करोड ८२ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

१४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १५ अर्ब २२ करोड रुपैयाँ सञ्चित छ। पछिल्लो तीन महिनामा बैंकको निक्षेप १६.७९ प्रतिशत बढेको छ भने कर्जा १२.३५ प्रतिशत बढेको छ।

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ३२ रुपैयाँ ५३ पैसा घटेर २७ रुपैयाँ ९ पैसामा सीमित भएको छ। असोज मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १९.४६ गुणा रहेको छ भने प्रतिसेयर नेटवर्थ २०२ रुपैयाँ ५ पैसा रहेको छ।

प्रकाशित : 3 November, 2023 11:35 am