आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, रिगल फेरि जेल जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

आममाफी दिने राष्ट्रपतिको निर्णय बदर, रिगल फेरि जेल जाने



काठमाडौं । सर्वोच्च अदालतले योगराज ढकाल (रिगल)लाई राष्ट्रपतिले दिएको आममाफी बदर गरेको छ । न्यायाधीशत्रय ईश्वरप्रसाद खतिवडा, सपना मल्ल प्रधान र कुमार चुडालको पूर्ण इजलासले रिगललाई दिइएको आममाफी बदरको फैसला सुनाएको हो।

इजलासले रिगललाई बाँकी कैद माफी दिने निर्णय ‘अपराध पीडितको हक प्रतिकुल देखिएको’ भनेको छ। इजलासको यो आदेशको पत्र पाएसँगै अब प्रहरीले उनलाई फेरि नियन्त्रणमा लिएर बाँकी रहेको जेल सजाय भुक्तानका लागि कारगार पठाइने भएको छ।

२०७२ असार २८ गते बाँकेको नेपालगन्ज–१६ स्थित मुख्य सडकमै रहेको ज्योति सिम्ताली होटेलअगाडि रिगलसहित करिब १५ जनाको समूहले स्थानीय चेतन मानन्धरको हत्या गरेको पुष्टि भएको थियो। सोही प्रकरणमा बाँके जिल्ला अदालतका न्यायाधीश विष्णु सुवेदीको इजलासले २०७५ वैशाख ११ गते रिगललाई जन्मकैदको सजाय हुने फैसला सुनाएको थियो।

२०७२ भदौ ७ गते पक्राउ परेका उनलाई २०९२ भदौ ६ गतेसम्म कैद गर्नुपर्ने फैसला भए पनि गत असोज ३ गते संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिले रिगलको बाँकी कैद मिनाहा गरिदिएका थिए।

जम्मा ८ वर्ष कैद बसेर राजनीतिक शक्तिको आडमा मुक्त भएपछि आफूहरू त्रासमा रहेको र जघन्य हत्या गर्नेलाई कैद मिनाहाको सिफारिस गर्ने मन्त्रिपरिषद र मन्त्रिपरिषदको सिफारिस अनुसार कार्यान्वयन गर्ने राष्ट्रपतिको निर्णय खारेजीको माग गर्दै चेतनकी श्रीमती भारती मानन्धरले सर्वोच्च अदालतमा रिट दिएकी थिइन्।

प्रकाशित : १६ कार्तिक २०८०, बिहीबार १७:००