बैंकिङ प्रविधिमा बढ्दो आकर्षण, मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघ्याे « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

बैंक / वित्त

बैंकिङ प्रविधिमा बढ्दो आकर्षण, मोबाइल बैंकिङ प्रयोगकर्ताको सङ्ख्या दुई करोड नाघ्याे

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । प्रविधिको विकाससँग सबैभन्दा नजिक रहेर बैंकिङ क्षेत्र अगाडि बढिरहेको छ । आज जसरी हामी मोबाइलबाटै कारोबार गरिरहेका छौं, त्यसको श्रेय बैंक तथा वित्तीय संस्थालाई नै जान्छ ।

प्रविधिको बैंकिङ पाटोलाई फिनटेक (वित्तीय प्रविधि) को रुपमा चिन्ने गरिन्छ । फिनटेकलाई सँगै अगाडि बढाउन र त्यसको छुट्टै पहिचान दिन बैंकिङ तथा वित्तीय क्षेत्रले खेलेको भूमिका निश्चय नै सराहनीय छ ।

अझ कोभिड–१९ पछिका दिनहरुमा त झनै यसले महत्वपुर्ण भुमिका खेलेको छ । यसरी विस्तार सबै कारोबार डिजिटल हुँदै गर्दा मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङको प्रयोगकर्ता बढ्दै जानु स्वभाविक पनि हो । नेपाल राष्ट्र बैंकले जारी गरेको गत भदौं मसान्तसम्मको तथ्याङ्क हेर्ने हो भने मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या दुई करोड १९ लाख ५७ हजार ६९२ पुगेको छ। यो संख्या अघिल्लो आर्थिक वर्ष २०७८/७९ को भदौ मसान्तसम्म एक करोड ८८ लाख ८९ हजार ४३० थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङ प्रयोगकर्ताको संख्या १६.२४ प्रतिशतले बढेको छ।

यसैगरी यो अवधिमा इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या पनि १०.६७ प्रतिशतले बढेर १८ लाख ८८ हजार ३४५ पुगेको छ। अघिल्लो वर्ष इन्टरनेट बैंकिङ प्रयोगकर्ताको संख्या १७ लाख ६ हजार ९१ रहेको थियो।

समीक्षा अवधिमा मोबाइल बैंकिङमार्फत दुई खर्ब ४२ अर्ब रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी एक खर्ब ४६ अर्ब रुपैयाँ बढीको भएको थियो। समीक्षा वर्षमा मोबाइल बैंकिङमार्फत हुने भुक्तानी अघिल्लो वर्षको तुलनामा ६५.७७ प्रतिशतले बढेको छ।

यसैगरी चालु आर्थिक वर्षको भदौ मसान्तसम्म इन्टरनेट बैंकिङमार्फत १२ अर्ब ९५ करोड रुपैयाँ बढीको भुक्तानी भएको छ। अघिल्लो वर्ष यही अवधिमा यस्तो भुक्तानी १२ अर्ब १९ करोड रुपैयाँ बढीको भएको थियो।

समीक्षा अवधिमा विभिन्न वाटेल र क्यूआरमार्फत हुने भुक्तानी क्रमशः २१ अर्ब ९ करोड रुपैयाँ र ३० अर्ब ५६ करोड रुपैयाँ बढीको भएको छ। अघिल्लो वर्ष यस्ता भुक्तानी क्रमशः १७ अर्ब ६३ करोड रुपैयाँ र १५ अर्ब २ करोड रुपैयाँ थियो।

प्रकाशित : २ कार्तिक २०८०, बिहिबार ११:४८ 19 October, 2023 11:48 am

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।