काठमाडौं। प्रधानमन्त्री सुशील कोइरालाले नेपाली सेनाका लागि खरिद गरेर ल्याइएको एमआई १७ हेलिकप्टरको पहिलो उडान सेवाको सोमबार शुभारम्भ गर्नुभएको छ । मन्त्रिपरिषद्को २०६९ फागुन १४ गतेको बैठकले नेपाली सेनालाई सुरक्षा र प्रतिरक्षाका लागि दुईवटा हेलिकप्टर खरिद गर्न स्वीकृति प्रदान गरेको थियो ।
सेवा शुभारम्भको घोषणा गरेसँगै मन्त्रिपरिषद्का केही सदस्यका साथ प्रधानमन्त्री कोइराला भूकम्पपीडितलाई राहत सामग्री वितरणका लागि सोही हेलिकप्टर चढेर धादिङको झारलाङतर्फ लाग्नुभयो । नेपाली सेनाले ती दुवै अत्याधुनिक एमआइभी–५ हेलिकप्टर तीन अर्ब १८ करोड मूल्यमा रुसबाट गरिद गरेर ल्याएको हो ।
नेपाली सेनाको हवाई सुरक्षा महानिर्देशनालय मातहतमा सञ्चालनमा रहने ती हेलिकप्टर सैनिक तालिम, प्राकृतिक विपद्मा खोज, उद्धार तथा राहत वितरणलगायत देश र नागरिकको कल्याणका काममा प्रयोग हुने छन् । नेपाली सेनको हवाई क्षमता अभिवृद्धि गर्ने हेतुले ती हेलिकप्टर खरिद गरिएको नेपाली सेनाले जनाएको छ ।
दुवै हेलिकप्टरको कल साइन एनए ०५६ र ०५७ राखिएको छ । जेठ २६ गते काठमाडौं ल्याइपुर्याइएका ती दुवै हेलिकप्टरको नेपाली सेना र नागरिक उड्डयन प्राधिकरणको प्राविधिक टोलीले असार ४ गते परीक्षण उडान गरिसकेको जनाइएको छ । क्यामोफलाइज रङका सात हजार किलो तौलका ती हेलिकप्टरमा दुईवटा इन्जिन जडान गरिएको छ ।
विशिष्ट, कार्गो पाराजम्म र सामान ओसारपसारलगायत बहुआयामिक रुपमा प्रयोगमा ल्याउन सकिने ती हेलिकप्टरले छ हजार मिटरसम्मको उचाइमा सजिलैसँगै उडान भर्ने क्षमता राख्दछन् । चार हजार किलो तौल वा २६ जना यात्रुलाई सजिलै बोक्न सक्ने ती हेलिकप्टरबाट लामो कार्गोका सामान पनि एक स्थानबाट अर्को स्थानमा पु¥याउन सकिनेछ ।
सामान्य अवस्थामा लगभग २५ वर्षको आयु रहने हेलिकप्टरलाई कम्पनीले एक वर्षसम्म निःशुल्क रुपमा मर्मतसम्भार गर्ने छ । नेपाली सेनासँग हाल साना ठूला तथा नयाँ पुराना गरी १७ वटा हेलिकप्टर र चारवटा हवाइजहाज छन् ।
तीमध्ये १४ वटा हवाई साधनले मात्र उडान भर्न सक्ने बताइएको छ । नेपाली सेनाले केही वर्षअघि तयार गरेको १० वर्षे दीर्घकालीन रणनीतिमा सङ्गठनलाई ३० वटा हवाई साधन आवश्यक पर्ने उल्लेख गरिएको छ ।
Comment