काठमाडौं । संखुवासभामा निर्माणाधिन ९०० मेगावाट क्षमताको अरुण–३ जलविद्युत आयोजना निर्माणमा भइरहेको अवरोधप्रति स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विदेशी लगानीमा निर्माणाधिन आयोजनामा भइरहेको यस प्रकारको अवरोधले नेपालको जलविद्युत विकासमा विदेशी लगानीलाई निरुत्साहित गर्ने हुँदा स्वतन्त्र ऊर्जा उत्पादकहरु यो विषयमा चिन्तित रहेको पनि इप्पानका अध्यक्ष गणेश कार्कीले जनाएका छन् ।
इप्पानद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘आयोजना निर्माणका क्रममा निस्किएका कुनै पनि विवादलाई वार्ता र छलफलका माध्यमबाटै समाधान गरेर जान सकिन्छ । यसका लागि आयोजना र स्थानीयका बीचमा सरकारले मध्यस्थता गरेर भए पनि वार्ताबाटै निकास दिन र आयोजनाको काम यथाशक्य चाँडो सुचारु गराउन आग्रह गर्न चाहन्छौं ।’
विगतमा पनि आयोजनाको विषयलाई लिएर विवाद हुँदा आयोजना बनाउन अघि सरेको विश्व बैंकले हात झिकेको कुरा स्मरण गराउन चाहन्छौं । अहिले भारतीय कम्पनी सतलज जलविद्युत निगम (एसजेभिएन)ले द्रुत गतिमा काम अघि बढाइरहेको बेला भएको अवरोधले ऊर्जा क्षेत्रमा सक्रियरुपमा लागेका स्वदेशी तथा विदेशी प्रवर्धकहरुलाई दुःखी बनाएको छ, विज्ञप्तिमा भनिएको छ ।
विज्ञप्तिमा अगाडि भनिएको छ– ‘आयोजना निर्माणमा भइरहेको अवरोध हटाई काम सुचारु गराउनका लागि नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छौं ।’
Comment