भदौ २१ गतेदेखि सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्ट आइपीओ, प्रतिकित्ता ५० रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
५ मंसिर २०८३, शनिबारSaturday, November 21, 2026

शेयर बजार

भदौ २१ गतेदेखि सर्वसाधारणका लागि हाथवे इन्भेष्टमेन्ट आइपीओ, प्रतिकित्ता ५० रुपैयाँ

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले भोलि( बिहिबार ) भदौ २१ गतेदेखि सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्ने भएको छ । प्रतिकित्ता अंकित मूल्य ५० रुपैयाँका दरले कम्पनीले आइपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले आफ्नो जारी पूँजी १ अर्ब १७ करोड रुपैयाँको १२।५० प्रतिशतका दरले हुन आउने १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको प्रतिकित्ता ५० रुपैयाँ अंकित मूल्यका २९ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो।

सोमध्ये कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृती लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि १ करोड ४६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ९२ हजार ५०० कित्ता शेयर निष्काशन गरी बाँडफाँड गरिसकेको छ।

कम्पनीले २९ लाख २५ हजार रुपैयाँ बराबरको ५८ हजार ५०० कित्ता शेयर आफ्ना कर्मचारीहरुका लागि र ७३ लाख १२ हजार ५०० रुपैयाँ बराबरको १ लाख ४६ हजार २५० कित्ता शेयर सामूहिक लगानी कोषका लागि निष्काशन गरी बाँडफाँड गरिसकेको छ। अब कम्पनीले दोस्रो चरणमा बाँकी रहेको १२ करोड १३ लाख ८७ हजार ५०० रुपैयाँ बराबरको २४ लाख २७ हजार ७५० कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको हो।

कम्पनीको आइपीओमा न्यूनतम २० कित्ता शेयरका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा २० अंकको गुणाङ्कमा १ लाख कित्तासम्म आवेदन दिन सकिनेछ। सर्वसाधारण लगानीकर्ताले कम्पनीको आईपीओमा भदौ २५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिभित्र पूर्ण आवेदन नपरेमा निष्काशन अवधि असोज ४ गतेसम्म लम्बिनेछ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्।

प्रकाशित : २० भदौ २०८०, बुधबार १७:२७ 6 September, 2023 5:27 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।