चालु आवमा विदेशी लगानी बढ्योः एक महिनामा करिब १२ अर्ब वैदेशिक लगानी स्वीकृत « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

चालु आवमा विदेशी लगानी बढ्योः एक महिनामा करिब १२ अर्ब वैदेशिक लगानी स्वीकृत



काठमाडौं । साउनमा वैदेशिक लगानीमा वृद्धि भएको छ । चालु आर्थिक वर्षको पहिलो महिना साउनमा ६० वटा उद्योगका लागि करिब १२ अर्ब रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको छ । जुन अघिल्लो आर्थिक वर्षको साउन महिनाको तुलनामा साढे ४ गुणा बढी हो ।

उद्योग विभागका अनुसार चालु आर्थिक वर्षको साउनमा ५४ साना, ४ वटा मध्यम तथा २ वटा ठूला उद्योगमा गरेर ११ अर्ब ९३ करोड १८ लाख ३० हजार रुपैयाँ बराबरको वैदेशिक लगानी स्वीकृत भएको छ । याे अघिल्लो वर्षको साउनमा २ अर्ब ६४ करोड ९० लाख रुपैयाँ वैदेशिक लगानी स्वीकृत भएको थियो ।

विभागले प्रत्यक्ष वैदेशिक लगानीमै स्थापना भएका ६ कम्पनीहरुको सेयर खरिद सम्झौता स्वीकृत गरेको हो भने ३ करोड ६० लाख रुपैयाँ बराबरको सेयर लगानी सम्झौतालाई स्वीकृत गेको हो ।

साउन महिनामा विभागले स्वीकृत गरेका ६० परियोजनाबाट ३ हजार ३ सय १ जनाले रोजगारीको अवसर प्राप्त गर्नेछन् । स्वीकृत औद्योगिक परियोजना मध्येमा पर्यटन क्षेत्रका ४६ प्रतिशत, ४३ प्रतिशत सर्भिस क्षेत्र, ७ प्रतिशत उत्पादन क्षेत्र, २ प्रतिशत आइटी तथा संचार, २ प्रतिशत परियोजना कृषि क्षेत्रमा आधारित रहेका छन्।

विभागका अनुसार साउन महिनामा पर्यटन क्षेत्रका २८, सर्भिस क्षेत्रका २६, उत्पादन क्षेत्रका ४, आइटी तथा संचार क्षेत्रको १ र कृषि क्षेत्रमा आधारित १ परियोजनाको वैदेशिक लगानी स्वीकृत भएको हो ।

यस्तै साउन महिनामा व्यवसायिक भिसा मार्फत २९३ लगानीकर्ता, ३९ प्रतिनिधि र ७३ आश्रित लगानीकर्ता नेपाल आएका छन् । त्यसैगरी विज्ञापनका लागि १८ र प्रविधि हस्तान्तरण सम्झौताका लागि ४ वटा गैर–पर्यटकीय भिसा प्रदान भएको विभागले जनाएको छ। साउन महिनामा मात्रै वैदेशिक लगानीकर्ताहरुले २० करोड ३० लाख बराबरको लाभांश फिर्ता लगेका छन् ।

प्रकाशित : ३ भाद्र २०८०, आईतवार १८:३६