बढ्यो विदेशी मुद्राको सञ्चिति, ११.७ महिनाको आयात धान्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

बढ्यो विदेशी मुद्राको सञ्चिति, ११.७ महिनाको आयात धान्न सक्ने



काठमाडौं । मुलुकको अर्थतन्त्रमा सुधार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको तथ्यांकले यस्तो देखाएको हो। तथ्यांकअनुसार हाल ११.७ महिनालाई वस्तुको आयात धान्ने विदेशी मुद्राको सञ्चिति रहेको छ।

तथ्यांक अनुसार २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति २६.६ प्रतिशतले वृद्धि भई २०८० असार मसान्तमा १५ खर्ब ३९ अर्ब ३६ करोड पुगेको छ। अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०८० असार मसान्तमा २३.१ प्रतिशतले वृद्धि भई ११ अर्ब ७४ करोड कायम भएको छ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०८० असार मसान्तमा २७.४ प्रतिशतले वृद्धि भई १३४५ अर्ब ७८ करोड कायम भएको छ। बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०८० असार मसान्तमा २१.४ प्रतिशतले वृद्धि भई १९३ अर्ब ५९ करोड पुगेको छ। २०८० असार मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.५ प्रतिशत रहेको छ।

आर्थिक वर्ष २०७९/८० को आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.७ महिनाको वस्तु आयात र १० महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ। २०८० असार मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३.० प्रतिशत र २५.१ प्रतिशत रहेका छन्।

२०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए।

प्रकाशित : १ भाद्र २०८०, शुक्रबार १३:१३