सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थ राजनीति

सरकारलाई बलियो बनाउन पद त्याग गरेँः अमनलाल मोदी



काठमाडौं । निःवर्तमान सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेको बताएका छन् । सोमबार सिंहदरबारस्थित सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा आफ्नो बिदाईका लागि आयोजित कार्यक्रममा बोल्दै निःवर्तमान मन्त्री मोदीले वर्तमान सरकारलाई बलियो बनाउन त्याग गर्नुपर्ने अवस्था आएपछि आफूले त्यसलाई सहज रुपले लिएको बताएका हुन् ।

राम्रो काम गर्दागर्दै अफ्ट्यारोमा परेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारलाई बलियो बनाउन आफूले पद त्याग गरेर साथ दिएको उनको भनाई छ। उनले प्रधानमन्त्री दाहाललाई देश र जनताको पक्षमा राम्रो काम गर्न पनि सुझाव दिए।

किसान, उत्पीडित थारुको छोरा आफूलाई मन्त्री बन्ने अवसर दिएको भन्दै मोदीले प्रधानमन्त्री दाहालप्रति आभार पनि व्यक्त गरे । निःवर्तमानमन्त्री मोदीले आफूले सबै पक्षलाई साथमा लिएर सङघीय निजामती सेवा ऐनको मस्यौदा तयार पारेको, कर्मचारी व्यवस्थापनका लागि मापदण्ड तयार पारेको र सुशासनको क्षेत्रको उल्लेखनीय काम गरेको भन्दै नवनियुक्तमन्त्री अनिता देवी साहले त्यसलाई निरन्तरता दिने विश्वास समेत व्यक्त गरे । मोदीले करिब ६ महिना २६ दिन मन्त्रीको रुपमा कार्यभार सम्हालेका थिए । मोदीले आफ्नो कार्यकाल सुःखद् रहेको दाबी गर्दै खुशी समेत व्यक्त गरे ।

प्रकाशित : २९ श्रावण २०८०, सोमबार १४:११