काठमाडौं । बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ (बागमती प्रोस्कून)ले तेस्रो स्थापना दिवस मनाएको छ । संघका अध्यक्ष उद्धव सापकोटाको अध्यक्षता र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोर्कणमणी दुवाडीको प्रमुख अतिथ्यतामा स्थापना दिवस मनाएको हो ।
संघले हरेक वर्ष स्थापना दिवसको अवसरमा सम्मान तथा पुरस्कारको घोषणा गर्दै आएको छ । आज घोषणा गरिएको सम्मान तथा पुरस्कार आगमी साधारण सभामा प्रदान गर्ने गर्दछ ।
संघले यस वर्ष उत्कृष्ट सहकारी अभियान्तको सम्मान राष्ट्रिय सहकारी महासंघका सञ्चालक डिबी बस्नेतलाई प्रदान गर्ने घोषणा गरेको छ । त्यस्तै उत्कृष्ट जिल्ला बचत संघमा मकवानपुर र उत्कृष्ट बचत तथा ऋण सहकारी संस्थामा बिन्दबासिनी साकोस बनेपा छनोट भएका छन् ।
त्यस्तै उत्कृष्ट बचत तथा ऋण सहकारी संस्था (महिला)मा सज्जन महिला साकोस, काठमाडौं छनोट भएको छ । त्यस्तै सहकारी सञ्चारकर्मी सम्मान खिलानाथ दाहाललाई प्रदान गर्ने निर्णय गरेको छ । प्रदेश उत्कृष्ट व्यवस्थापक, कुमार खत्री कल्याणकारी साकोस ललितपुर, उत्कृष्ट कर्मचारी सामुमैया दाहाल (बञ्जरा), उत्कृष्ट पदाधिकारी एवम् सञ्चालक सम्मान (सदस्य संघ/संस्था) भूमिराज खड्का छनोट भएको छ । खड्का एकीकृत फ्रेण्डसिप साकोस र बचत तथा ऋण सहकारी संघ दोलखाका अध्यक्ष हुन् ।
त्यस्तै उत्कृष्ट सेवा उपयोग सम्मान मनकामना साकोस काभ्रे, उत्कृष्ट लगानीकर्ता सम्मान जनमुखी साकोस दोलखा र उत्कृष्ट बचतकर्ता सम्मान भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ छनोट भएका छन् ।
Comment