उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल, नयाँ बोर्ड गठन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

उद्योग परिसंघ युवा उद्यमी मञ्चको अध्यक्षमा अनुराग गोयल, नयाँ बोर्ड गठन



काठमाडौं। नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च(सीएनआईवाईइएफ) को अध्यक्षमा अनुराग गोयल चयन भएका छन्। मञ्चको वार्षिक साधारण सभाले सन् २०२३/२४ का लागि गोयलको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरेको हो।

वार्षिक साधारण सभामा अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थतन्त्रको सुदृढिकरणमा उद्यमीहरुको महत्वपूर्ण भूमिमा रहेको बताएका थिए।

नेपाल उद्योग परिसंघका प्रेसिडेन्ट एमिरेट्स विनोद चौधरीले नयाँ सोंच, योजना, लक्ष्य लिएर अगाडि बढेका युवाहरुलाई थोरै मात्र भएपनि प्रोत्साहन गर्दा उद्यमशीलताको विकासमा महत्वपूर्ण योगदान हुने बताए।

परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले देशमै केही गर्न सकिन्छ, विदेश जान आवश्यक छैन भन्ने स्थापित गर्न युवाहरुलाई नीतिबाटै सहजीकरण, प्रोत्साहनको आवश्यकता रहेको बताए। परिसंघका उपाध्यक्ष एवं मञ्चका कन्भेनियर रोहित गुप्ताले मञ्चले उद्यमशीलता विकास, स्टार्टअपको प्रबद्र्धनमा केन्द्रित रहेर काम गर्दै आएको बताए। उनले राज्यले नवप्रबर्तन, युवा उद्यमीहरुलाई सहजीकरण गरिदिने हो भने देशमा केही गरौं भनेर लागेका युवा उद्यमीहरुलाई प्रोत्साहन मिल्ने बताए।

नवनिर्वाचित अध्यक्ष अनुराग, गोयल ग्रुपका प्रबन्ध निर्देशक हुन्। उनी उत्पादनमुलक उद्योग, बैंक, फाइनान्स तथा इन्स्योरेन्स, रियल स्टेट, खानी, जलविद्युतलगायतका क्षेत्रमा संलग्न छन्। गोयलले भारतस्थित सिम्बायोसिस इन्टरनेशनल यूनिभरसिटीबाट फाइनान्समा स्नातकोत्तर तहको अध्ययन गरेका छन्।

सन् २०२२/२०२३ को अध्यक्ष प्राशी अग्रवाल थिइन्। गोयलको कार्यसमितिमा आशिष अग्रवाल (लर्निङ चेयर), चिराग सरावागी (मेम्बरसिप चेयर), मनिष श्रेष्ठ (मेम्बर इन्टिग्रेसन), सुगम घिमिरे (ग्रोथ एण्ड एक्सपान्सन), सकेत संघाई (फाइनान्स चेयर), निदा दुन मल्न (कम्यूनिकेसन चेयर), पुनित अग्रवाल (स्टार्टअप चेयर) र सिने खेतान चुरिवाल स्टार्टअप (को–चेयर) निर्वाचित भएका छन्।

स्टार्ट–अप र युवाहरुलाई उत्पादन क्षेत्रमा प्रोत्साहन गर्ने गरी काम गर्ने अध्यक्ष गोयलले बताए। उनले युवा उद्यमीहरुलाई दृढ आत्मविश्वासका साथ काम गर्ने गरी नीतिगत सुधार गर्दै प्रोत्साहन गरिनुपर्नेमा जोड दिए।

परिसंघ युवा उद्यमी मञ्च सन् २००८ मा गठन भएको परिसंघको युवा संगठन हो। मञ्चको पहिलो अध्यक्ष विष्णुकुमार अग्रवाल हुन्। अग्रवाल परिसंघका निवर्तमान अध्यक्ष पनि हुन्।

प्रकाशित : १२ श्रावण २०८०, शुक्रबार २२:२३