होटल तथा पर्यटन क्षेत्रको समस्या मौद्रिक नीतिले सम्बोधन गर्न सकेन: होटल संघ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

होटल तथा पर्यटन क्षेत्रको समस्या मौद्रिक नीतिले सम्बोधन गर्न सकेन: होटल संघ



काठमाडौं। मौद्रिक नीतिले होटल तथा पर्यटन क्षेत्रको समस्या सम्बोधन गर्न नसकेको होटल संघ नेपालले बताएको छ । संघले मंगलबार जारी गरेको विज्ञप्तिमा कोभिड र रुस-युक्रेन युद्धबाट चरम आर्थिक मन्दीको मारमा परेको होटल तथा पर्यटन क्षेत्रलाई मौद्रिक नीतिबाट पुनर्कर्जा, पुनरतालिकीकरण जस्ता सुविधाहरु आवश्यक पर्नेमा राष्ट्र बैंकले त्यसमा काम नगरेको संघको बुझाइ छ।

संघले कम ब्याजदरको ऋणको अपेक्षा पनि गरेको छ। बजेट तथा मौद्रिक नीतिले पर्यटक संख्या बढेको जनाउँदै आर्थिक गतिविधि समेत बढेको भने पनि निरन्तर थपिँदै गएको तारे लगायतका होटलहरुको कुल क्षमताको एक तिहाई भन्दा पनि कम क्षमता उपयोग भई सञ्चालनमा समेत घाटा रहेको यथार्थ विर्शिएको आरोप लगाएको छ।

‘वर्तमान अवस्थामा होटलहरुले बैंकलाई नियमित बुझाउनु पर्ने साँवा र व्याज तिर्न नसक्ने अवस्थामा पुगेको छ,’ संघले भनेको छ, ‘गत आर्थिक वर्षको पछिल्लो ३ महिनाको मौद्रिक नीतिको समीक्षाले तिर्नु बुझाउनु पर्ने साँवा व्याजलाई पुनरकर्जा तथा पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था गरेको भए तापनि हालको मौद्रिक नीतिमा यस्ता थप कुनै व्यवस्था नभएको हुँदा होटल तथा पर्यटन क्षेत्र अलमलमा परेको छ।’

मुलुकमा विश्व विख्यात होटल ब्रान्डहरु भित्रिने क्रम बढ्दै गएको भएपनि मौजुदा मौद्रिक नीतिले यथेष्ट प्रोत्साहित गर्न नसकेको संघको बुझाई छ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १६:५४