निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

निर्धारित लक्ष्य प्राप्त हुनेगरी काम गर्न अर्थमन्त्रीको निर्देशन



बुटवल । अर्थमन्त्री डा. प्रकाशशरण महतले राज्यले दिएको जिम्मेवारी निष्ठापूर्वक पूरा गर्न आग्रह गरेका छन्। आन्तरिक राजस्व कार्यालय बुटवल र भैरहवा कार्यालयको निरीक्षणका क्रममा कर्मचारीहरुलाई सम्बोधन गर्दै मन्त्री डा. महतले यस्तो आग्रह गरेका हुन्।

नियम, कानुन र ऐनले दिएको परिधिभित्र रहेर राजश्व संकलन गर्न र त्यसको फाइदा राज्यलाई पुग्ने गरी जिम्मेवारी पूरा गर्न उनको आग्रह थियो। ‘विविध कारणले गत वर्ष लक्ष्य भेट्न सकिएन। यसपाली पनि त्यस्तै हो भन्न पाइँदैन’, उनले भने, ‘विस्तारै अर्थतन्त्र गतिशील हुँदैछ, सँगैसँगै करको दायरा हामीले फराकिलो बनाएका छौँ।’

मूल्य अभिवृद्धि कर (भ्याट) विस्तारै हट्दै गएको र त्यसले राजश्व संकलनमा असर पुगेकोले भ्याटलाई पुनः प्रवेश गराएको जानकारी महतले दिए। ‘नयाँ मूल्य अभिवृद्धि कर कसरी लागू गर्ने भन्ने बारेमा तपाईंहरु पूर्णरुपमा प्रशिक्षित हुनुपर्छ’, ट्राभल्समा लाग्ने करको उदाहरण दिँदै उनले भने, ‘ट्राभल्समा लाग्ने कर एयरलाइन्सले नै तिर्ने हो। त्यसको रेकर्ड आन्तरिक राजश्व कार्यालय पनि राख्नुपर्छ।’

‘स्याउ, आलु र प्याजमा पनि कर लागेको छ तर त्यो भन्सारमा मात्र लाग्छ। भ्याट लागेको स्टोरबाट सामान बिक्री हुन्छ भने त्यहाँ उसले भ्याट जोड्नुपर्छ’, उनले भने, ‘बाहिरबाट आएको छ भने भन्सार मानै लाग्छ, आन्तरिक उत्पादनमा लाग्दैन।’

नयाँ क्षेत्रमा कर प्रस्ताव गरिएको छ, त्यसलाई राम्रोसँग अध्ययन गर्न मन्त्री महतले आग्रह गरे। उनले भने, ‘हामीले निर्धारण गरेको लक्ष्य प्राप्त हुनुपर्छ। पहिले के हुन्थ्यो थाहा छैन, अहिले कामकै आधारमा मात्रै मूल्यांकन हुन्छ।’

प्रकाशित : ९ श्रावण २०८०, मंगलवार १२:१५