वाणिज्य बैंकहरुले ब्याजदर घटाउने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

वाणिज्य बैंकहरुले ब्याजदर घटाउने



काठमाडौं । साउन महिनामा अधिकांश वाणिज्य बैंकहरुले ब्याजदर घटाउने भएका छन् । सोमबारदेखि लागू हुने गरी बैंकहरुले आइतबार सार्वजनिक गरेको ब्याजदरमा अधिकांश वाणिज्य बैंकहरुको ब्याजदर घटेको छ भने केहीले स्थिर राखेका छन् ।

केही बैंकले भने ब्याजदर बढाउने भएका छन् । नेपाल बैंकर्स संघले ब्याज दरको कार्टेलिङ अन्त्य गरेपछि बैंकहरुको ब्याज दरमा विधिता देखिएको हो । ब्याजदर सार्वजनिक गरेका १८ वटा मध्ये दश वटाले ब्याजदर घटाएका हुन ।

ब्याजदर घटाउने बैंकहरुमा राष्ट्रिय बाणिज्य बैंक, प्रभु बैंक, नेपाल एसबीआइ बैंक, माछापुच्छ्रे बैंक, एभरेष्ट बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक, सिद्धार्थ बैंक, सानिमा बैंक, नेपाल बैंक र कृषि विकास बैंक रहेका छन् ।

राष्ट्रिय बाणिज्य बैंकले मुद्दतीको ब्याजदर ८ दशमलव ९९ प्रतिशतमा झारेको छ भने प्रभुले पनि मुद्दतिमा अधिकतम ८ दशमलव ९९ प्रतिशत दिने भएको छ । एसबीआइ बैंकले मुद्दतीमा अधिकतम् ९ दशमलव १ प्रतिशत, माछापुच्छ्रेले ९ प्रतिशत, एभरेष्ट बैंकले ९ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंकले ९ दशमलव ९५ प्रतिशत, सिद्धार्थ बैंकले ९ दशमलव ५ प्रतिशत, सानिमा बैंकले ९ दशमव ५२ प्रतिशत, नेपाल बैंकले ८ दशमलव ९९ प्रतिशत र कृषि विकास बैंकले ९ दशमलव ५१ प्रतिशतमा कायम गरेका छन् ।

मुद्दतीको ब्याजदर स्थिर राख्ने बैंकहरुमा हिमालयन बैंक, ग्लोबल आइएमइ बैंक, लक्ष्मी सनराइज बैंक र सिटिजन्स बैंक रहेका छन् । यस्तै नबिल बैंक, प्राइम बैंक, कुमारी र एनएमबी बैंकले भने साउनमा दिने ब्याज दर झिनो मात्रामा बढाएका छन् । नबिलले मुद्दतिको ब्याजदर ९ दशमलव ९९ बाट बढाएर अधिकतम १० दशमलव ४९ प्रतिशत पुर्‍याएको छ ।

राष्ट्रियस्तरका विकास बैंकहरुले पनि ब्याजदर घटाएका छन् । विकास बैंकहरुले संस्थागत मुद्दति निक्षेपमा अधिकतम् ८ दशमलव १० प्रतिशत र व्यक्तिगत मुद्दति निक्षेपमा १० दशमलव १० प्रतिशत ब्याज प्रस्ताव गरेका छन् । फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याजदर घटाएका छन् । फाइनान्सहरुले संस्थागत मुद्दतीमा ८ दशमलव ७० र व्यक्तिगत मुद्दतीमा १० दशमलव ७० प्रतिशत ब्याज प्रस्ताव गरेका छन् ।

प्रकाशित : ३१ असार २०८०, आईतवार ११:३६