सीएनआईको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच स्वदेशी सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्न समझदारी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

सीएनआईको मेक इन नेपाल ‘स्वदेशी’ र दराजबीच स्वदेशी सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्न समझदारी



काठमाडौं। नेपाल उद्योग परिसंघ (सीएनआई)को मेक इन नेपाल ‘स्वदेशी’ र अनलाइन प्लाटफर्म कम्पनी दराजबीच स्वदेशी अभियानमा आबद्ध सदस्यहरुको उत्पादन प्रवर्द्धन गर्न समझदारी भएको छ। मेक इन नेपाल ‘स्वदेशी’ उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको साझेदारीमा सीएनआईले सञ्चालन गरिरहेको अभियान हो।

स्वदेशी औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा पुर्याउँदै आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्ने मुख्य लक्ष्यका साथ सीएनआईले सन् २०२१ देखि ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालन गरिरहेको छ। सीएनआईले स्वदेशी अभियानमा जोडिएका उद्योगहरुका लागि नीतिगत वकालत गर्ने, नेटवर्किङ र बजारीकरणमा सहयोग गर्ने, स्वदेशी उत्पादनको प्रवर्द्धन गर्ने, कामदारहरुको सीप अभिबृद्धि गर्नेजस्ता काम गर्दै आएको छ।

स्वदेशी सदस्यहरुको वस्तु तथा सेवाको बजारीकरणमा सहयोग गर्ने उद्देश्यले दराजसँग समझदारी गरिएको हो। यस समझदारीअनुुसार दराजले आफ्नो अनलाइन पोर्टलको ‘प्राउड्ली नेपाली च्यानल’ मा स्वदेशी सेक्सन बनाउनेछ र स्वदेशी सदस्यहरुले आफ्ना वस्तुहरु यस सेक्सनमा राख्न पाउनेछन्। साथै, दराजले स्वदेशीको प्रबद्र्धन गर्ने अन्य उपाय तथा सुविधाहरु दिनेछ।

यो समझदारीअनुसार मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुको वस्तु दराजको प्लाटर्फममा राख्न तथा खरिदबिक्री गर्न दराजले स्वदेशी सदस्यहरुलाई आवश्यक तालिम, परामर्श, जानकारी उपलब्ध गराउनेछ।

मेक इन नेपाल स्वदेशी अभियानमा आबद्ध सदस्यहरुलाई बजारीकरण तथा नेटवर्किङमा सहयोग गराउने उद्देश्यले दराजसँग यो समझदारी गरिएको सीएनआईका अध्यक्ष राजेशकुमार अग्रवालले बताए। स्वदेशी अभियानको उद्देश्य प्राप्तिका लागि नीतिगत वकालतसँगै अन्य थप प्रवर्द्धनात्मक कार्यलाई अगाडि बढाइने उनले जानकारी दिए।

स्वदेशी वस्तुहरुलाई प्रोत्साहन, प्रवर्द्धन गर्न स्वदेशी सदस्यहरुको वस्तुहरुलाई आफ्नो अनलाइन प्लाटफर्म उपलब्ध गराइएको दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले बताइन्।

समझदारीले स्वदेशी सदस्यहरुलाई आफ्नो उत्पादनको बजारीकरणमा सहयोग पुर्याउने विश्वास परिसंघ राष्ट्रिय परिषद् सदस्य हितेश गोल्छाले व्यक्त गरे। समझदारीपत्रमा सीएनआईका महानिर्देशक दीपकराज जोशी र दराजकी प्रबन्ध निर्देशक आँचल कुवरले हस्ताक्षर गरेका छन्।

प्रकाशित : २७ असार २०८०, बुधबार १२:१७