काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको आरोपमा दुई जना विरुद्ध मुद्दा दायर गरेको छ । आयोगले धनुषाका नगराइन नगरपालिका वडा नं. २ का वडा अध्यक्ष बुलन यादव र वडा सचिव अमृत नारायण मिश्र विरुद्ध घुसररिसवत लिई भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।
आयोगका अनुसार वडाअध्यक्ष यादव र वडा सचिव मिश्रले सडक निर्माण कार्य सम्पन्न सिफारिस गरिदिए वापत सेवाग्राहीसँग घुस/रिसवत माग गरिरहेको भन्ने सूचना एवं उजुरी परेको थियो ।
सोही निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, वर्दिवासबाट खटिई गएको टोलीले निज वडाअध्यक्ष यादव र वडासचिव मिश्रलाई सेवाग्राहीबाट ७० हजार रुपैयाँ घुस/रिसवत लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो ।
अनुसन्धानको सिलसिलामा उनीहरुले सडक निर्माणको कार्य सम्पन्न पश्चात भुक्तानीको लागि पूर्वाधार विकास कार्यालय, धनुषालाई सिफारिस गरी दिएवापत सेवाग्राहीसँग घुस लिएको पुष्टी हुन आएको आयोगले जनाएको छ ।
सोही आधारमा उनीहरु विरुद्ध ७० हजार बिगो र जरिवाना सजायसमेत हुन मागदावीसहित शुक्रबार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको आयोगले जनाएको छ ।
Comment