अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले फेरि बैंकिङ प्रणालीबाट २० अर्ब तान्दै



काठमाडौं । बैंकिङ प्रणालीमा तरलता बढ्दै गएपछि राष्ट्र बैंकले २० अर्ब रुपैयाँ खिच्ने भएको छ । केन्द्रीय बैंकले असार १० गते आइतबार ७ दिने अवधिको वित्तीय औजार रिभर्स रिपो जारी गर्न लागेको हो। कर्जा प्रवाह न्यून हुँदा लगानीयोग्य रकम लगातार बढ्दै गएको छ ।

सोही कारण तरलता सन्तुलन राख्न आज २० अर्ब रुपैयाँको तरलता प्रशोचन गर्ने अवस्थामा केन्द्रीय बैंक पुगेको हो । राष्ट्र बैंकले जारी गरेको ७ दिने अवधिको यस रिभर्स रिपो असार १७ गते परिपक्व हुनेछ । जारी रिपोमा बैंक, विकास बैंक र वित्त कम्पनीहरुले लगानी गर्न पाउने र त्यस्ता संस्थासँग मास्टर्स रिपर्चेज एग्रिमेन्ट अनिवार्य हुनुपर्ने व्यवस्था गरिएको छ।

रिपोमा सहभागी हुन बैंकहरुले आइतबार दिउँसो ३ बजेसम्म अनलाइन बिडिङ गर्नुपर्नेछ। परेको बोलकबोलबाट भारित औसतमा ब्याजदर निर्धारण गरिनेछ। निक्षेपको तुलनामा लगानी विस्तार हुन नसकेपछि बजारमा बढेको मुद्रा प्रवाह नियन्त्रणका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गर्न लागेको हो।

यसअघि बिहीबारमात्रै राष्ट्र बैंकले रिभर्स रिपोमार्फत १० अर्ब रुपैयाँ बैंकिङ प्रणालीबाट तानेको थियो। यो रिभर्स रिपोमा राखिएको रकम बैंकहरुले असार १४ गते फिर्ता पाउनेछन्।

प्रकाशित : ८ असार २०८०, शुक्रबार १७:३२