नरैनापुर गाउँपालिकामा गाउँसभाको तयारी पूरा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

नरैनापुर गाउँपालिकामा गाउँसभाको तयारी पूरा



बाँके । बाँकेको नरैनापुर गाँउपालिकाले आगामी आर्थिक वर्षका लागि नीति, कार्यक्रम तथा बजेट ल्याउन सभाको तयारीमा जुटेको छ । गाउँ सभामा पेश हुने बार्षिक नीति तथा कार्यक्रम आगामी आर्थिक बर्षको बार्षिक बजेटको सबै तयारी पूरा भएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मणिराम खरालले बताए ।

नरैनापुर गाँउपालिकाले असार १० भित्र सुरु गर्नुपर्ने गाउँसभा समयमै गर्नका लागि बस्तीस्तरमा नीति तथा कार्यक्रमका लागि छलफल गर्दै सुझाव सङ्कलन, माग र आवश्यकता सङ्कलनको काम पुरा गरेको जनाएको छ । बुधबार बसेको गाँउकार्यपालिकाको बैठकले बस्तीस्तरबाट भएको योजना छनोटका विषयमा विभिन्न समितिमा छलफल गरी आवश्यकताका आधारमा बजेट बिनियोजन गर्ने तयारी गरेको गाँउपालिकाका अध्यक्ष इश्तियाक अहमद शाहले बताए ।

अध्यक्ष शाहले समयमै सभा गर्ने तयारीमा आफूहरु व्यस्त रहेको बताए । “हामीले वडास्तरमा जनप्रतिनिधिलाई साना–साना समूह बनाएर टोलटोलमा पठायौँ, जसले सबैका माग सम्बोधन गर्न सहज होस् भन्ने सबैसँग छलफल गर्ने समय मिल्यो”, उनले भने, “यसपटक फेरी पनि शिक्षा र स्वास्थ्य प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी छ ।”

बुधबार बसेको बैठकले उपाध्यक्ष जयन्ती देबी श्रीवस्तवको संयोजकत्वमा न्यायिक समितिलाई पूर्णता दिने निर्णय गरेको छ । समितिको सदस्यमा वडा नं. १ का अध्यक्ष इसाक जोलाह र वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यलाई राख्ने निर्णय भएको वडा नं. २ का अध्यक्ष मसूद अहमद शाहले जानकारी दिए । उनले भने, कार्यपालिकाले गरेको निर्णयलाई असार १० गते गाँउसभबाट पारीत गरिने छ ।

यस्तै वडा नं. ५ का अध्यक्ष कृष्ण चन्द्र मौर्यले शिक्षा ऐन २०७४ लाई सम्शोधन गर्ने र निति, कार्यक्रम र बजेट का विषयमा आजको बैठकमा छलफल भएको बताउदै असार १० गते हुने गाँउ सभा विवाद रहित तरिकोले सम्पन्न हुने बताए ।

वडा नं २ का अध्यक्ष मसूद अहमद शाहले अबका दिनमा दीर्घकालीन टिक्ने र फाइदा हुने खालका योजनालाई प्राथमिकता दिने बताए । “शिक्षा, स्वास्थ्य, कृषि, वातावरण संरक्षण प्राथमिकतामा रहनेछन”, उनले भने, “बजेट तथा कार्यक्रम ल्याउँदा नरैनापुरकाको दिगो विकास र फाइदा हुने कुरामा ध्यान दिइनेछ । त्यसका साथै पछाडि परेका सबै क्षेत्रलाई समेट्ने प्रयास रहने गरी काम थालेका छौँ ।”

बैठकमा गाँउपालिका अध्यक्ष इश्तियाक अहमद शाह, उपाध्यक्ष जयन्ती देवी श्रीवास्तव, प्रमुख प्रशासकिय अधिकृत मणिराम खराल, वडा नं. १ का अध्यक्ष इसाक जोहल, वडा नं. २ का अध्यक्ष मसूद अहमद शाह, ३ का वडा अध्यक्ष अजय मिश्रा, ४ का अध्यक्ष मनोज शर्मा, ५ का वडा अध्यक्ष कृष्ण चन्द्र मौर्य, ६ का वडा अध्यक्ष प्रेम मौर्य, जिन्सी शाखा प्रमुख भरत महतो र लेखापाल प्रकाश अधिकारी लगायत कार्यपालिका सदस्यहरुको सहभागिता रहेको थियो ।

प्रकाशित : ७ असार २०८०, बिहीबार ११:५६