लुम्बिनी केबलकार संचालनमा, भब्य समारोहबीच प्रधानमन्त्रीले गरे उदघाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

लुम्बिनी केबलकार संचालनमा, भब्य समारोहबीच प्रधानमन्त्रीले गरे उदघाटन



काठमाडौं। आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केबलकार व्यवसायिक रुपमा संचालनमा आएको छ । विहीबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उक्त केबलकारको उद्घाटन गरे ।

प्रधानमन्त्री दाहालले बुटवलको गोलपार्क बमघाटमा रहेको बटम स्टेसनमा रहेका ताम्रपत्र अनावरण गरि औपचारिक उद्घाटन गरेका हुन्। बुटवलको गोलपार्क बमघाटदेखि पाल्पाको तिनाउ गाउँपालिका–३ बसन्तपुरसम्म ३ किलोमिटर दुरीको केबलकार लुम्बिनी प्रदेशको पहिलो केबलकार हो।

उद्घाटनपछि लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिरसहित भगवती मन्दिर, गणेश मन्दिर, कैलाश पर्वत, वर पिपल, ढुंगेधारा, पोखरी आदि संरचनाहरुले भरिपूर्ण एउटा धार्मिक तथा पर्यटकिय गन्तव्य बनेको आइएमई समूहले जनाएको छ।

यसअघि जेठ १५ गते कामाख्या मन्दिरमा कामाख्या देवीको मुर्ति प्राणप्रतिष्ठा गरी पुजाआराधना सुरु गरिएको थियो। केबलकारको दैनिक सञ्चालनका लागि बुटवल उपमहानगरपालिका र तिनाउ गाउँपालिकासँग त्रिपक्षीय सम्झौता भइसकेको छ।

लुम्बिनी केबलकार प्रालिले प्रति टिकट शुल्कको २ प्रतिशत रकम दुईवटा पालिकाका लागि छुट्टाउने छ। आइएमई समूहले सञ्चालनमा ल्याएको यो तेस्रो केबलकार परियोजना हो। यसअघि आइएमई समूहले काठमाडौंको चन्द्रागिरी र हालै नवलपुरको गैडाकोटमा मौलाकालिका केबलकार सञ्चालनमा ल्याइसकेको छ।

लुम्बिनी केबलकार प्रालिका अध्यक्ष चन्द्रप्रसाद ढकालले लुम्बिनी केबलकार सञ्चालनले बसन्तपुरमा नयाँ धार्मिक र पर्यटकीय गन्तव्य थपिएको बताएका छन्। लुम्बिनी केबलकार नेपाल सरकार, लुम्बिनी प्रदेश सरकार, स्थानीय सरकारहरु सहित स्थानीयको सामूहिक प्रयासबाट प्राप्त माया, सद्भाव र सहयोगका कारण समयमै निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउन सफल भएको बताए।

रुपन्देही र पाल्पा जिल्ला जोड्ने यस पर्यटकीय पूर्वाधारले रुपन्देही, पाल्पा, नवपरासी र कपिलवस्तु जिल्ला र समग्र लुम्बिनी प्रदेशकै आर्थिक तथा सामाजिक रुपान्तरणमा टेवा पुर्‍याउने विश्वास रहेको पनि अध्यक्ष ढकालले बताए।

केबलकार रिसोर्टसहितको आयोजनाको कुल लागत ५ अर्ब रुपैयाँ छ। पहिलो चरणमा केबलकारमा डेढ अर्ब लगानी भएको छ। टप स्टेसनमा पर्यटकका लागि भेज र ननभेज छुट्टाछुट्टै रेस्टुरेन्ट बनिसकेका छन्। होटल, बाल उद्यान, स्काईवाक, जीपलाइन निर्माणको क्रममा छन्। केबलकार सञ्चालनमा आएसँगै टपस्टेसनमा साढे ३ अर्ब लागतमा पाँचतारे होटल, लगायत संरचना निर्माण हुने छन्।

मोनोकेबल डिट्याचेबल सिस्टमका २५ वटा गोण्डोला रहेको केबलकारले दैनिक ६ हजार यात्रुलाई ओसारपसार गर्न सक्छ। बटम स्टेसन समुद्री सतहबाट दुई सय ३० मिटर र टपस्टेसन ९ सय ४० मिटरको उचाईमा रहेको छ। बटन स्टेसनबाट १० मिनेटको यात्रा मै टप स्टेसनमा पुग्न सकिन्छ। गर्मी मौसममा बसन्तपुर पुगेर शितलता प्राप्त गर्न केबलकारले सजिलो माध्यम हुने अध्यक्ष ढकालले बताए।

प्रकाशित : २५ जेष्ठ २०८०, बिहीबार १२:४१