सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सनराइज बैंकको शाखारहित बैंकिङ सेवा कैलालीको कुचैनीमा



काठमाडौं । सनराइज बैंक लिमिटेडले कैलाली जिल्लाको गौरीगंगा नगरपालिका–३ कुचैनीमा शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको छ। उक्त शाखारहित बैंकिङ सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ सेवा संख्या १०३ पुगेको छ। बैंकले गौरीगंगा नपा–३ कुचैनी कैलालीमा खोलेको शाखारहित बैंकिङ सेवाको प्रतिनिधिका रुपमा गणेशप्रसाद पौडेललाई नियुक्त गरेको छ।

आज आयोजित एक कार्यक्रममा प्रमुख अतिथिमा गौरीगंगा नगरपालिका–३ का वडा अध्यक्ष मनीराज जोशी र सभापतिमा बैंकका अत्तरिया शाखाका प्रमुख मातृका खड्काको उपस्थिति थियो। उक्त कार्यक्रममा स्थानीय व्यापारी, बुद्धिजीवी, समाजसेवीलगायत अन्य कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति थियो।

बैंकिङ सेवाका माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ सेवाअन्तर्गत एटीएम कार्डमार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ। यस सेवाबाट ग्राहकले निक्षेप सकंलन, रकम भुक्तानी, रकम स्थानान्तरणजस्ता सेवाहरु लिन सकिने जनाएको छ। व्यापार, कृषि र रेमिट्यान्सको मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ पहुँच बढाउने उद्देश्यका साथ बैंकिङ सेवा सुरु गरेको बैंकले जनाएको छ।

हालसम्म सनराइज बैंकले १३९ वटा शाखा, १०३ वटा शाखारहित बैंकिङ सेवा, १३ वटा एक्सटेन्सन काउन्टर र १६२ वटा एटीएममार्फत आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ। यसका साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि बैंकिङ सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ।

प्रकाशित : २ जेष्ठ २०८०, मंगलवार १२:१५