बढ्यो विदेशी मुद्रा सञ्चिति, ११ महिनाको आयात धान्न सक्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

बढ्यो विदेशी मुद्रा सञ्चिति, ११ महिनाको आयात धान्न सक्ने



काठमाडौं । चालु आर्थिक वर्षको नौ महिनासम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति बढ्दै गएको छ । २०७९ असार मसान्तमा १२ खर्ब १५ अर्ब ८० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति १७.९ प्रतिशतले वृद्धि भइ चैत मसान्तमा १४ खर्ब ३३ अर्ब ७३ करोड पुगेको छ ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०७९ असार मसान्तमा ९ अर्ब ५४ करोड रहेकोमा २०७९ चैत मसान्तमा १४.८ प्रतिशतले वृद्धि भई १० अर्ब ९४ करोड कायम भएको छ ।

कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०७९ असार मसान्तमा १० खर्ब ५६ अर्ब ३९ करोड रहेकोमा २०७९ चैत मसान्तमा २०.६ प्रतिशतले वृद्धि भई १२ खर्ब ७३ अर्ब ९९ करोड पुगेको छ ।

बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०७९ असार मसान्तमा १ खर्ब ५९ अर्ब ४१ करोड रहेकोमा २०७९ चैत मसान्तमा ०.२ प्रतिशतले वृद्धि भई १ खर्ब ५९ अर्ब ७४ करोड पुगेको छ । २०७९ चैत मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २३.१ प्रतिशत रहेको छ ।

आर्थिक वर्ष २०७९/८० को नौ महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ११.० महिनाको वस्तु आयात र ९.४ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ ।

२०७९ चैत मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २६.६ प्रतिशत, ७८.९ प्रतिशत र २४.४ प्रतिशत रहेका छन् । २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः २४.६ प्रतिशत, ५७.८ प्रतिशत र २२.१ प्रतिशत रहेका थिए ।

प्रकाशित : २७ बैशाख २०८०, बुधबार १६:२४