सरकारले २० अर्ब आन्तरिक ऋण उठाउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

सरकारले २० अर्ब आन्तरिक ऋण उठाउदै



काठमाडौं । सरकारले २० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउन लागेको छ । राष्ट्र बैंकले आज सोमबार सूचना जारी गर्दै ट्रेजरी बिल मार्फत् उक्त ऋण उठाउन लागेको हो । यस्तै, तत्काल भुक्तानी गर्न नसक्ने भएपछि सरकारले ८ अर्ब ६० करोड रुपैयाँ बराबरको पुरानो ऋणको समेत नवीकरण गर्ने तयारी गरेको छ । जसअनुसार राष्ट्र बैंकले २८ दिन, ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि ट्रेजरी बिल जारी गर्न लागेको हो ।

मंगलबार जारी हुने यस ट्रेजरी बिलका लागि आज दिउँसो ३ बजे बोलकबोल हुनेछ । केन्द्रीय बैंकले २८ दिनको लागि १० अर्बको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी जेठ ९ गते परिपक्व हुनेछ ।

९१ दिनको लागि ८ अर्ब ६० करोड रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी साउन ९ गते परिपक्व हुनेछ । यसमध्ये २८ दिनको लागि ५ अर्ब र ९१ दिन ३ अर्ब ६० करोड भने नविकरण गर्न लागेको हो । १८२ दिनको लागि ६ अर्ब रुपैयाँको ट्रेजरी जारी गर्न लागेको हो । यो ट्रेजरी कात्तिक ७ गते परिपक्व हुनेछ । त्यस्तै, ३६४ दिनको लागि ४ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । यो ट्रेजरी २०८१ वैशाख ११ गते परिपक्व हुनेछ ।

ट्रेजरी बिल १ वा १ वर्षभन्दा कम अवधिको आन्तरिक ऋण उठाउन प्रयोग गरिने अल्पकालीन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत ट्रेजरी बिलको बोलकबोलमा सहभागी हुन सक्नेछन् । बोलकबोलमा सबैभन्दा बढी मूल्य तोक्ने संस्थालाई पहिलो प्राथमिकतामा राखी क्रमैसँग आह्वान रकमसम्म ट्रेजरी बिलको बाँडफाँट हुने गर्दछ ।

प्रकाशित : ११ बैशाख २०८०, सोमबार ११:२९