साविकको क्रिष्टल फाइनान्सका निक्षेपकर्तालाई १५ दिन भित्र निक्षेप दावी गर्न आग्रह « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

साविकको क्रिष्टल फाइनान्सका निक्षेपकर्तालाई १५ दिन भित्र निक्षेप दावी गर्न आग्रह



काठमाडौं। खारेजी प्रक्रियामा रहेको क्रिष्टल फाइनान्सका निक्षेपकर्तालाई आफ्नो लिन बाँकी निक्षेप भुक्तानी लिन दाबी पेस गर्न आह्वान गरिएको छ। उच्च अदालत पाटनको आदेशअनुसार स्थापित क्रिष्टल फाइनान्सको लिक्वडेटरको कार्यालयले आइतबार एक सार्वजनिक सूचना प्रकाशित गर्दै निक्षेपकर्तालाई यस्तो आह्वान गरेको हो।

खारेजी प्रक्रियामा रहेको साविक त्रिष्टल फाइनान्समा निक्षेप खाता रहेका व्यक्ति, संघ र संस्थाहरुले यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवश्यक विवरणसहित आफ्नो लिन बाँकी निक्षेप भुक्तानी लिन दाबी पेस गर्न कार्यालयले आग्रह गरेको छ।

निक्षेप भुक्तानी दाबीका लागि क्रिष्टल फाइनान्मा रहेको खातामा रहेको नाम, निक्षेप रकम, निक्षेपकर्ताको दस्तखत (खाता खोल्दा बखतको), नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, कम्पनी, संघ संस्थाहरुको हकमा दर्ता तथा प्यान प्रमाणपत्रको प्रतिलिपि र नेपाल राष्ट्र बैंकको ग्राहक पहिचान कार्यविधिबमोजिम अन्य आवश्यक कागजपत्रका साथै फोटो पेस गर्नुपर्ने हुन्छ।

कार्यालयले यसअघि नै दामासाहीसम्बन्धी एने, २०६३को दफा २२को उपदफा (१)को खण्ड (ख)बमोजिम क्रिष्टल फाइनान्सलाई ऋण प्रदान गर्ने सम्पूर्ण साहुहरुलाई १५ दिनभित्र आफ्नो ऋण दाबी पेस गर्न सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिसकेको छ।

पुनरावेदन अदालत पाटनको २०७२ कात्तिक २० गतेको फैसला र उच्च अदालत पाटनको २०७७ पुस १२ गतेको आदेशअनुसार दामासाहीसम्बन्धी ऐन, २०६३को दफा ३६ (१)बमोजिम लिक्विडेटर नियुक्ति भई क्रिष्टल फाइनान्स खारेजीको प्रक्रियामा रहेको छ।

प्रकाशित : १० बैशाख २०८०, आईतवार १२:०५