काठमाडौं । नेपाल बीमा प्राधिकरणले आइएमई जनरल इन्स्योरेन्स र प्रुडेन्सियल इन्स्योरेन्सलाई एकिकृत कारोबारका लागि नेपाल बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेको छ ।
गत माघ २७ गते मर्जरका लागि प्रारम्भिक सम्झौता गरेका यी दुई कम्पनीलाई एकिकृत कारोबार सुरु गर्न प्राधिकरणले आइतवार स्वीकृति प्रदान गरेको हो । आगामी वैशाखको अन्तिम सातादेखि एकिकृत कारोबार सुरु गर्ने योजनामा रहेको कम्पनीहरूले अब एकिकृत कारोबारका लागि कम्पनी रजिष्ट्रारको कार्यालय र नेपाल धितोपत्र बोर्डबाट पनि स्वीकृति पाउनुपर्नेछ ।
कम्पनीहरूले नियामक निकायबाट स्वीकृति पाएको एक महिनाभित्र एकिकृत कारोबार गरिसक्नुपर्ने व्यवस्था बमोजिम आगामी वैशाख २७ गतेदेखि एकिकृत कारोबार गर्ने तयारी गरेका हुन । नयाँ निर्जीवन बीमा कम्पनीको रूपमा सञ्चालित आइएमई जनरल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब ८० करोड ३७ लाख ५० हजार रहेको छ ।
आइएमई जनरल इन्स्योरेन्सले गत वर्षको मुनाफबाट यस वर्ष ६ प्रतिशत बोनस शेयर वितरण गरी पूँजी बढाएको हो । त्यसैगरी प्रुडेन्सियल इन्स्योरेन्सको चुक्तापूँजी रू. १ अर्ब १८ करोड ६१ लाख ४४ हजार रहेको छ । प्रुडेन्सियल इन्स्योरेन्सले हाल कायम चुक्तापूँजीको आधारमा ३ दशमलव ३२ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव चैत १६ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित गरेको छ ।
बोनसपछि प्रुडेन्सियलको चुक्तापूँजी रू. १ अर्ब २२ करोड ५५ लाख ८३ हजार पुगेको छ । यी दुई कम्पनी समान हैसिएतमा मर्जरमा जान लागेका हुन । एकिकृत कारोबारपछि बन्ने आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडको चुक्तापूँजी रू. ३ अर्ब २ करोड ९३ लाख ३३ हजार पुग्नेछ ।
नियामक निकाय नेपाल बीमा प्राधिकरणले गरेको पूँजी सम्बन्धि व्यवस्था बमोजिम नयाँ बन्ने कम्पनीको पूँजी रू. ५ अर्ब हुनुपर्नेछ । मर्जरपछि पनि कम्पनीलाई थप रू. १ अर्ब ९७ करोड ६ लाख ६७ हजार पूँजी आवश्यक हुन्छ ।
Comment