काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले १५ औँ वार्षिक साधारणसभा गर्ने भएको छ । कम्पनी सञ्चालक समितिको बैठकले सभा आगामी वैशाख १८ गते बाराको सिमरास्थित होटेल क्लासिकमा बिहान ११ः३० बजेदेखि आयोजना गर्ने निर्णय गरेको हो।
सभाले आर्थिक वर्ष २०७८/७९को सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब ९० करोड ८१ लाख ११ हजार ७५ रुपैयाँको कुल ८.५ प्रतिशतले हुन आउने २४ करोड ७१ लाख ८९ हजार ४४२ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.४४७ प्रतिशतले हुन आउने १ करोड ३० लाख ९ हजार ९७० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गर्नेछ।
बोनस सेयर वितरणपछि जारी तथा चुक्तापुँजी वृद्धि गर्न स्वीकृति प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। कम्पनीको अधिकृत पुँजी ५ अर्ब रुपैयाँलाई वृद्धि गरी ६ अर्ब रुपैयाँ कायम गर्न प्रबन्धपत्रमा संशोधन गर्ने प्रस्ताव सभाले स्वीकृत गर्नेछ।
सभाले आर्थिक वर्ष २०७८/७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गर्नेछ। लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ कम्पनीले आउँदो वैशाख ८ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ वैशाख ७ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।
Comment