काठमाडौं । माई खोला हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीले बिहीबार बैंकिङ समयसम्म मात्र यसमा आवेदन दिन पाउनेछन् ।
कम्पनीले फागुन २५ गतेदेखि इलाम जिल्लाका स्थानीयलाई जारी पुँजीको १० प्रतिशत अर्थात ३ लाख ९२ हजार १५७ कित्ता सेयर र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सर्वसाधारणमा निष्कासन हुने सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ५२ हजार ९४१ कित्ता सेयर बिक्री खुला गरेको हो ।
बिहीबार बैंकिङ समयपश्चात दुवै समूहको आवेदन बन्द हुने कम्पनीले जानकारी गराएको छ । कम्पनीको जारी पुँजी ३९ करोड २१ लाख ५६ हजार ८०० रुपैयाँ रहेको छ । स्थानीयले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता र वैदेशिक रोजगारीमा गएकाले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
यस आइपीओमा स्थानीयले प्रभु बैंक, सेन्चुरी बैंक तथा प्राइम कमर्सिल बैंकको इलाम शाखाबाट आवेदन दिन सक्नेछन् । यस्तै, बिक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी काठमाडौं र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले भने सी–आस्वा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
Comment