उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

उन्नति कल्चरल भिलेजमा ‘उन्नति मेला



काठमाडौं । नवलपुरको हर्कपुरस्थित उन्नति कल्चरल भिलेजले उन्नति मेला आयोजना गरेको छ। अन्तर्राष्ट्रिय श्रमिक नारी दिवस र भिलेजको दोस्रो वार्षिकोत्सवको अवसरमा शनिबार उक्त कार्यक्रम आयोजना गरिएको हो।

विशेषगरी नवलपुर र चितवनका महिला लघु उद्यमी र युवा उद्यमीलाई सहयोग एवं र सशक्तीकरण गर्न भिलेजको यो एकदिने मेला आयोजना गरेको हो।

कार्यक्रममा नवलपुरका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल प्रमुख अतिथि र गैंडाकोट नगरपालिकाकी उपमेयर शान्ति कोइराला विशेष अतिथि थिए।

उक्त अवसरमा प्रमुख जिल्ला अधिकारी लम्सालले चौधरी फाउन्डेसनअन्तर्गत उन्नति कल्चरल भिलेजले कला संस्कृति लगायतको प्रवर्द्धन एवम् विकासमा पुर्‍याएको योगदानबारे प्रशंसा गरे।

कला–संस्कृतिको संरक्षण र विकासले देशको समग्र विशेषतालाई झल्काउने र यिनका माध्यमबाट नेपालले विश्वसामु नयाँ परिचय स्थापित गर्न सक्ने उनको भनाइ छ।

साथै गैंडाकोट नगरपालिका उपमेयर कोइरालाले उन्नति कल्चरल भिलेजले लोप हुन लागेको थारु समुदायको आफ्नो कला संस्कृतिलाई जीवन्त राख्न महत्वपूर्ण भूमिका खेलेको बताइन्। नारी सशक्तीकरणमा भिलेजले पुर्‍याएको योगदानबारे पनि उनले प्रशंसा गरिन्।

मेलामा डिजिटल एन्ड मोबाइल बैंकिङ वर्कसप, डिजिटल मार्केटिङ एन्ड ई–कमर्स ट्रेनिङ, नवलपुर रेसिडेन्सी एक्जिबिसन र ओपन–एयर म्युजियम उद्घाटनलगायत विभिन्न गतिविधि प्रदर्शन गरिएको थियो।

प्रकाशित : २८ फाल्गुन २०७९, आईतवार ११:२६