ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छः अध्यक्ष ढकाल « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थबजार स्टोरी

ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको छः अध्यक्ष ढकाल



काठमाडौं । ग्लोवल आईएमई बैंकका अध्यक्ष चन्द्र ढकालले देशकै ठूलो बैंक बनेसँगै काम र जिम्मेवारी थपिएको बताएका छन् । शनिवार ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाण्डु (बीओके) मर्जर भएपछि संयुक्त कारोबार हुने अवसरमा दुवै बैंकका कर्मचारीहरुले गरेको वाकाथन कार्यक्रममा बोल्दै ढकालले देशकै ठूलो बैंक भएपछि आफूहरुले बैंकिङ क्षेत्रमा करिव १० प्रतिशत हिस्सा लिने बताए ।

बीओकेलाई गाभेर २५ गतेदेखि एकीकृत कारोबार गर्न लागेको ग्लोबल आइएमई बैंकले स्थापना भएको १६ वर्षमा नेपालकै सबैभन्दा ठूलो बैंक बन्नु खुशीको कुरा भएको ढकालले बताए । उनले आगामी दिनमा बैंकका सेवा बिस्तार गरी, चुस्त, दुरुस्त सेवा दिने र सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि लगानी दिने बैंकका रुपमा अघि बढाउने बताए ।

ढकालले भने, ‘ग्लोवल आईएमई बैंक र बैंक अफ काठमाडौं मर्ज भएर नेपालको सबैभन्दा ठूलो बैंक बनेको छ । बैंकिङ क्षेत्रको कुरा गर्दा करिव १० प्रतिशत हिस्सा हामीले लिनेछौँ । बैंक स्थापना भएको १६ वर्षमा हामी नेपालकै सबैभन्दा ठूलो बैंक बनेका छौँ । आउने दिनमा हाम्रो गुणस्तर र सर्भिसलाई चुस्त र दुरुस्त हिसावले अघि बढाउनेछौँ । सबै नेपालीको बैंकको रुपमा डिपोजिट वा व्यवसाय गर्नको लागि अघि बढ्नेछौँ ।’

दुई बैंकहरुको मर्जर पश्चात् कुल ३६५ शाखा कार्यालय, ३६७ एटिएम, २८६ शाखा रहित बैंकिङ्ग सेवा, ६१ बिस्तारित शाखा कार्यालयहरु, ३ वटा विदेशस्थित सम्पर्क कार्यालयहरु, ४० लाखभन्दा बढी ग्राहकहरुसहित अन्य धेरै वित्तीय परिसूचकहरुमा ग्लोवल आइएमई बैंक लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुनेछ । मर्जर पश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपियाँ, चुक्ता पुँजी ३५.७७ अर्ब रुपियाँ, कुल निक्षेप ४०८ अर्ब रुपियाँ, कुल कर्जा ३७६ अर्ब रुपियाँ भन्दा बढी पुग्नेछ । मर्जरपछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसावले नेपालको सबै भन्दा ठूलो बैंक बन्नेछ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्र ढकालसहित ५ जना र बीओकेको तर्फबाट २ जना रहनेछन् ।

प्रकाशित : २४ पुष २०७९, आईतवार ११:२६