काठमाडौं । सर्लाही– ४ मा मुख्यगरी दुई गठबन्धनका उम्मेदवारबीच प्रतिस्पर्धा छ । सत्ता गठबन्धनबाट कांग्रेसका नागेन्द्रकुमार राय र एमाले–जसपा गठबन्धनबाट जसपाका राकेशकुमार मिश्रको उम्मेदवारी छ ।
यहाँ राप्रपाबाट महेश महतो र जनमत पार्टीबाट रामबाबु राय पनि उम्मेदवार छन् । केही स्वतन्त्र पनि मैदानमा छन् । कांग्रेसबाट २०७४ मा चुनाव जितेका अमरेशकुमार सिंह पनि स्वतन्त्र उम्मेदवार छन् । २६ वर्षीया मधुमालाकुमारी यादव पनि स्वतन्त्र उम्मेदवार छिन् । उनी माओवादी नेता शिवपुजन राय यादवकी छोरी हुन् ।
अमरेशमुकार सिंह पार्टीले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका हुन् । सिंहको नाम कांग्रेस सर्लाहीले उम्मेदवारका रूपमा सिफारिस गरेको थिएन । सिंह यसअघि कांग्रेस महाधिवेशन प्रतिनिधिमा पनि पराजित भएका थिए ।
बैशाख ३० मा भएको स्थानीय तह चुनावको मत हेर्दा यहाँ कांग्रेस नेतृत्वको सत्ता गठबन्धन निकै अगाडि छ । एमाले–जसपा गठबन्धनको १८ हजार ८ सय मत देखिन्छ । तर सत्ता गठबन्धनका पक्षमा ६१ हजार ७ सय ११ मत पुग्छ ।
कांग्रेस उम्मेदवार नागेन्द्र आफूहरूको जित निश्चित रहेको बताए । ‘हामी चुनावी घरदैलो गरिरहेका छौं । माहौल राम्रो छ,’ उनले भने, ‘स्वतन्त्र उठेका अमरेशकुमारले धरौटी जोगाउन सक्दैनन् ।’ त्यसमा पनि आफू वर्षौंदेखि स्वयम्सेवी रुपमा नागरिकको काम गरिरहेको रायले बताए । फराकिलो मतान्तरले सत्ता गठबन्धन विजयी हुने उनको दाबी छ ।
जसपाबाट प्रतिनिधि सभा उम्मेदवार रहेका राकेशले किसानका मुद्दा उठाउँदै आएका छन् । किसानका मुद्दामा साथ दिँदै आएकाले त्यही बलमा चुनाव जित्ने दाबीसमेत उनले गर्ने गरेका छन् । सर्लाही ४ को समृद्धिका लागि जनताका लागि काम गर्न सक्ने नेता मंसिर ४ मा निर्वाचित गर्नुपर्ने पनि उनी बताउँछन् ।
Comment