भैरहवा विमानस्थलबाट कुवेत एयरले नियमित उडान गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित
४ मंसिर २०८३, शुक्रबारFriday, November 20, 2026

Feature News

भैरहवा विमानस्थलबाट कुवेत एयरले नियमित उडान गर्ने

यो समाचार सुन्नुहोस्अडियो तयार हुँदैछ, केही मिनेटपछि फेरि हेर्नुहोस्

काठमाडाैं । कुवेतको ध्वजावाहक कम्पनी कुवेत एयरले भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेश गरेको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का अनुसार उक्त एयरले अबको एक महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको हो । गत सोमबार मात्रै उक्त एयरले कुवेत–नेपाल चार्टर उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले जानकारी दिए । उनका अनुसार कुवेत–नेपाल दुईतर्फी उडानका लागि करिब दुई महिनाअघि कूटनीतिक प्रक्रिया सुरु गरेको उक्त कम्पनीले सुरुआतमा चार्टर उडान सुरु गरेको हो ।

उक्त कम्पनीले चार्टर उडान सुरु गरेको र हाल पर्यटकको यामसँगै अगाडि नै तालिका लिइसकेका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न दिइएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए। उनका अनुसार उक्त कम्पनीलाई चार्टर उडानका लागि भैरहवा गन्तव्य कायम गरिने र आउँदो डिसेम्बरबाट यो कम्पनीले भैरहवामै नियमित उडान गर्ने योजना पेस गरिसकेको छ । उक्त कम्पनीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित उडान गर्ने योजना पेस गरेको भए पनि उडान तालिका प्रस्ताव आउन बाँकी रहेको बताइएको छ । भैरहवाबाट हाल कुवेतकै जजिरा एयरवेजले नियमित उडान गर्दै आएको छ । कुवेत एयरको नियमित उडान सुरु भएसँगै बजार थप प्रतिस्पर्धात्मक हुने प्राधिकरणले जनाएको छ ।

यसैगरी अबुधाबीस्थित बिज एयरले आफ्नो उडान मिति तत्कालका लागि स्थगित गरेको बताइएको छ । अबको डेढ महिनापछि भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्ने वायुसेवा कम्पनीको सङ्ख्या आधा दर्जनभन्दा बढी पुग्ने नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । डिसेम्बर १६ बाटै प्राधिकरणले फ्लाइ दुबई, कतार एयरवेज, एयर अरेबियालगायत वायुसेवालाई गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान गर्न निर्देशन दिइसकेको छ ।

प्रकाशित : १६ कार्तिक २०७९, बुधबार १४:०२ 2 November, 2022 2:02 pm

प्रतिक्रिया

तपाईंको प्रतिक्रिया लेख्नुहोस्

तपाईंको इमेल प्रकाशित हुने छैन। प्रतिक्रिया स्वीकृत भएपछि देखिनेछ।