भारतले थप एक बर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

भारतले थप एक बर्ष लम्ब्यायो चिनी निर्यातमा प्रतिबन्ध



काठमाडाैं । भारत सरकारले चिनी उत्पादनमा ह्रास आएको र माग धान्न कठिन भएको भन्दै चिनी निर्यातमा गत बर्ष लगाएको प्रतिबन्धलाई निरन्तरता दिएको छ । यसअघि गत जेठमा भारतको उद्योग मन्त्रालयअन्तर्गत वैदेशिक व्यापार निर्देशनालयले अक्टोबर ३१ सम्मका लागि चिनी निर्यातमा रोक लगाएको थियो । रुस युक्रेन युद्धका कारण विश्व व्यापार प्रणालीमै असर परेपछि धेरै देशहरुले आफ्ना प्रमुख उत्पादनहरुको आन्तरिक खपतमा सन्तुलन बनाइराख्न सीमित वस्तुको निर्यातमा प्रतिवन्ध लगाएका थिए ।

सोही नीतिको सिको गर्दै भारतले पनि चिनी निर्यातमा कडाई गरेको थियो । पुनः वैदेशिक व्यापार निर्देशनालयले गत शुक्रबार एक सूचना जारी गर्दै सन २०२३ अक्टोबर ३१ सम्मका लागि उक्त प्रतिवन्ध लम्ब्याइएको जानकारी दिएको हो । तर, यस्तो प्रतिवन्ध युरोपियन युनियन र अमेरिकामा भने लागु हुनेछैन । भारत चिनी उत्पादनमा विश्वको सबैभन्दा ठुलो र निर्यातमा दोस्रो ठूलो राष्ट्र हो ।

भारतीय सरकारी अधिकारीहरुले यस वर्ष भारतको उखु उत्पादन अहिलेसम्मकै उच्च हुने बताएका थिए। उनीहरुले यस वर्ष उत्पादन भएको उखु उत्पादनको आधारमा सरकारले ८० लाख टन चिनी निर्यात गर्न सक्ने बताएका थिए।

भारतले प्रतिबन्ध लगाउनुअघि नेपालले भारतबाट वार्षिक १ लाख ६० हजार मेट्रिक टन चिनी आयात गर्दै आएको थियो।

प्रकाशित : १३ कार्तिक २०७९, आईतवार १६:०३