नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशतः आईएमएफ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशतः आईएमएफ



काठमाडाैं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ)ले सन् २०२२ मा नेपालको आर्थिक वृद्धिदर ४.२ प्रतिशत हुने आँकलन गरेको छ । आईएमएफले हालै मात्र सार्वजनिक गरेको एसिया प्रसान्त क्षेत्रको क्षेत्रीय आर्थिक परिदृष्य’ प्रतिवेदनले सन् २०२३ मा भने नेपालको आर्थिक वृद्धिदर पाँच प्रतिशत हुने आँकलन गरेको छ।

नेपालको यो प्रक्षेपण उदीयमान तथा विकासशील अर्थतन्त्रको औषत अवस्था भन्दा राम्रोमा रहेको छ । आईएमएफले यी मुलुकमा सन् २०२२ मा ४.४ र २०२३ मा ४.९ प्रतिशतको वृद्धिदर हुने अनुमान गरेको छ।

कोरोना महामारी र रुस–युक्रेन युद्धको प्रभावले इन्धन तथा खाद्यान्नमा भएको उच्च मूल्य वृद्धिका कारण सन् २०२२ को पहिलो ६ महिनामा नेपाललगायत भारत, भुटान, माल्दिभ्स र श्रीलङ्कासहित फिलिपिन्स र थाइल्यान्डको अर्थतन्त्रले ठूलो नकारात्मक असर भाेग्नुपरेकाे उक्त प्रतिवेदनमा प्रष्ट पारिएकाे छ ।

आयातमा आधारित अर्थतन्त्रको बाह्य क्षेत्र बढी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ। आयातमै आधारित नेपाल, भारत र फिलिपिन्समा ठूलो जनसङ्ख्या इन्धन र खाद्यान्नको मूल्य वृद्धि र रासायनिक मलको चरम अभाव झेल्नुपर्दा आर्थिक वृद्धिको पूर्व अपेक्षित गति धिमा भएको प्रतिवेदनमा औँल्याइएको छ ।

आईएमएफको आँकलन अनुसार भारतको भने आर्थिक वृद्धिदर यो वर्ष ६.८ प्रतिशत र आगामी वर्ष ६.१ प्रतिशत रहनेछ ।

प्रकाशित : १३ कार्तिक २०७९, आईतवार १३:१८