काठमाडौं । सयपत्री हाइड्रोपावरले आज (साउन १३ गते) शुक्रबारदेखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित दरका ६ लाख कित्ता सेयरहरुमध्ये आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाको लागि निष्काशन गरी बाँकी रहेको १ लाख २१ हजार ६० कित्ता सेयर समेत थप गरी जम्मा ७ लाख २१ हजार ६० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
जसमध्ये ५ प्रतिशत अर्थात ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि, २ प्रतिशत अर्थात १४ हजार ४२१ कित्ता सेयर कर्मचारीहरुका लागि र बाँकी रहेको ६ लाख ७० हजार ५८६ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि छुट्याईएको छ ।
कम्पनीको आईपीओमा छिटोमा साउन १७ गतेसम्म र ढिलोमा साउन २७ गतेसम्म आवेदन दिने समय सकिनेछ । कम्पनीको आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतममा ३० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
कम्पनीको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण सी(आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयबाट आवेदन दिन सकिनेछ । यसका साथै मेरो शेयरको वेब तथा एपमार्फत पनि आवेदन दिन सकिनेछ ।
कम्पनीको आईपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ । कम्पनीको आईपीओलाई केयर रेटिङ्ग नेपालले केयरएनपी डबल बी आइएस रेटिङ्ग प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ ।
Comment